काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ नेतृत्वको वर्तमान सरकार लामो समय यही अवस्थामा अघि बढ्न नसक्ने टिप्पणी गरेका छन् ।
संसदीय मामिला रिपोर्टिङ गर्ने पत्रकारहरूसँग सोमबार सिंहदरबारस्थित नेकपा संसदीय दलको कार्यालयमा कुराकानी गर्दै प्रचण्डले बालेन नेतृत्वको सरकारलाई समुन्द्रमा कम्पास हराएको जहाजसँग तुलना गरे । उनले सरकारको राजनीतिक तथा वैचारिक दिशामाथि प्रश्न उठाए ।
प्रचण्डले सरकारलाई अपरिपक्व र वैचारिक–राजनीतिक दिशाविहीन भएको टिप्पणी गर्दै यही ढंगले अघि बढ्न नसक्ने दाबी गरे । ‘मुख्य कुरा के हो भने यो सरकार आफ्नै अपरिपक्व छ, आफैँ वैचारिक राजनीतिक दिशाविहीन छ । त्यो चाहिँ समुद्रमा कम्पास हराएको जहाज जस्तो भएको हुनाले यो धेरै जाँदैन, यही तरिकाले जान सक्दैन ।’
प्रचण्डले बालेन सरकारको आयु नै तोकृेर राजनीतिक वृत्तमा भइरहेका अड्कलबाजीलाई भने अस्वीकार गरे । उनका अनुसार कसैले दसैँ–तिहारपछि सरकार नजाने बताइरहेका छन् भने कसैले निश्चित मिति तोकेरै फेरि विध्वंस हुने दाबी गरिरहेका छ न्। तर यस्ता दाबीलाई उनले मनोगत र हावादारीको संज्ञा दिए ।
‘एकथरी चाहिँ दसैँ–तिहारभन्दा उता जाँदैन भन्नेहरूको नि ठुलै जमात देखिन्छ । अब त्यो बुझेर भन्छन् कि नबुझी भन्छन्’, उनले भने, ‘यही २८ गते विध्वंस हुन्छ है फेरि पनि भन्छन् कोही । तर ती कुरा चाहिँ सबै मनोगत, हावादारी नै कुरा हुन् जस्तो लाग्छ ।’
यसबाट प्रचण्डले सरकार तत्कालै कुन मितिमा ढल्छ भन्नेभन्दा पनि कार्यशैली र राजनीतिक कदमका कारण सरकारको स्थायित्वमै प्रश्न उठेको टिप्पणी गरे । प्रचण्डले सरकार नेतृत्वकर्ता दल रास्वपाभित्रै अन्तरविरोध रहेको र त्यो प्रकट भइरहेको बताए । राजनीतिक संगठन र सरकारमा अन्तरविरोध हुनु स्वाभाविक भए पनि वर्तमान सरकारको वैचारिक तथा राजनीतिक दिशाहीनतासँगै आन्तरिक समस्या पनि रहेको उनको भनाइ छ ।
उनले सरकारको वर्तमान अवस्थालाई नयाँ जहाजसँग तुलना गर्दै त्यसको दिशा र सञ्चालनबारे समेत प्रश्न उठाए । प्रचण्डले बालेन नेतृत्वमा नयाँ सरकारको गतिविधिका कारण रास्वपाप्रति देखिएको राजनीतिक उत्साह अहिले क्रमशः रोकिँदै गएको दाबी गरे । सुरुका दिनमा पुराना दलबाट ठूलो संख्यामा रास्वपामा जाने अवस्था देखिए पनि करिब चार महिनाको अवधिमा त्यो क्रम रोकिएको उनको दाबी छ ।
‘ पहिला जुन थियो नि, सुरुमा झ्याप्पै केही हुन्छ कि भन्या जस्तो, मान्छे अब बाँकी रहेका पनि सबै सोरिएर जाने हुन् कि उतै भन्या जस्तो जो देख्या थियो, त्यस्तो अहिले रोकियो।’ प्रचण्डले आफू सातै प्रदेशमा पुग्दा जनताको राजनीतिक मनोविज्ञानमा परिवर्तन देखेको बताए ।
उनका अनुसार नयाँ राजनीतिक शक्तितर्फ गएका कतिपय मानिसहरू फेरि पुरानो राजनीतिक धारतर्फ फर्कने सोचमा देखिन थालेका छन् । ‘मैले सातै प्रदेशमा गएँ, म सबैतिरको हेर्दा मान्छेले रियलाइज्ड गरिसकेको पाएँ । अब उतालाई यता फर्किने हो कि क्या हो भनेर उता गएका हरू पनि फर्किने तिर सोच्न थालेको देखिन्छ’,उनले भने ।
प्रचण्डले बालेन नेतृत्वको सरकारको रबैयाका कारण रास्वपाप्रतिको आकर्षण मधेसमा समेत कमजोर हुँदै गएको दाबी गरे । उनका अनुसार मधेसमा कतिपय मानिसहरूले आफूहरूले गलत राजनीतिक विकल्प रोजेको महसुस गर्न थालेका छन् ।
‘तराई–मधेसतिरको कुरा गर्ने हो भने त मधेसमा त मानिसहरू पश्चात्ताप नै गर्या छन् । गलत ठाउँमा हामी गइएछ भन्ने खालको सोचाइ, बुझाइ बन्न थालेको देखिन्छ ।’