काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती र लुम्बिनी प्रदेशका मुख्यमन्त्रीले लिन लागेको विश्वासको मतमा तटस्थ बस्ने निर्णय गरेको छ । बागमतीमा नेपाली कांग्रेसको नेतृत्वमा सरकार छ भने लुम्बिनीमा नेकपा एमालेको नेतृत्वमा सरकार छ ।
राप्रपाका प्रवक्ता मोहन श्रेष्ठका अनुसार सोमबार प्रदेशसभामा विश्वासको मत लिँदै गरेका दुवै प्रदेशका मुख्यमन्त्रीलाई विश्वासको मत नदिने निर्णय भएको हो । ‘बागमती र लुम्बिनी प्रदेशमा मुख्यमन्त्रीले लिन लागेको विश्वासको मतमा तटस्थ बस्ने निर्णय भएको छ,’ प्रवक्ता श्रेष्ठले भने ।
यस सम्बन्धमा प्रदेशसभा सदस्यहरूलाई ह्विप जारी गर्न सम्बन्धित संसदीय दलका नेतालाई पार्टीले निर्देशन दिएको उनले जानकारी दिए । प्रदेशमा सरकार निर्माणसम्बन्धी विषयमा अर्को निर्णय नभएसम्म राप्रपा तटस्थ रहने निर्णय अध्यक्ष राजेन्द्र लिङ्देनले गरेका छन् ।
अध्यक्ष लिङ्देनद्वारा जारी निर्देशन सम्बन्धित प्रदेशका संसदीय दलका नेतालाई पठाइएको प्रवक्ता श्रेष्ठले बताए ।