रसुवामा भएको पहिरोको घटनाप्रति सरकार गम्भीर हुँदै उद्धार, राहत तथा सम्भावित जोखिम न्यूनीकरणका लागि आवश्यक तयारी तीव्र बनाएको छ।
उद्धार तथा राहत कार्यका लागि नेपाली सेना, सशस्त्र प्रहरी बल (APF) र नेपाल प्रहरी परिचालन गरिएको छ। साथै, राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणलाई सक्रिय बनाएर आवश्यक समन्वय तथा व्यवस्थापनको काम अघि बढाइएको छ।
सम्भावित जोखिमलाई मध्यनजर गर्दै तल्लो तटीय क्षेत्रका बासिन्दाहरूलाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्न सम्बन्धित प्रमुख जिल्ला अधिकारी (CDO)हरूलाई निर्देशन दिइएको छ।
यसैगरी, सम्भावित उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन सबै हेलिकप्टरहरूलाई स्ट्यान्डबाइमा राख्न भनिएको छ।
घटनाको समग्र अवस्थाबारे छलफल गरी थप आवश्यक निर्णय लिन सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाहज्यूले आपत्कालीन राष्ट्रिय विपद् परिषद्को बैठक बोलाउनुभएको छ।
सरकारले घटनास्थल तथा जोखिममा रहेका क्षेत्रको अवस्थालाई निरन्तर निगरानी गर्दै उद्धार, राहत र नागरिकको सुरक्षालाई उच्च प्राथमिकतामा राखेको जनाएको छ।