रसुवाको भोटेकोसी नदीमा तिब्बततर्फबाट ठुलो बाढी प्रवेश गरेपछि त्रिशुली नदीको तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।
बाढी पूर्वानुमान महाशाखाले बिहान ९:१५ बजे सूचना जारी गर्दै अर्को सूचना नआएसम्म त्रिशुली नदीको तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेको हो।
महाशाखाका अनुसार भोटेकोसी नदीमा ठुलो बाढी प्रवेश गरेकाले त्यसको असर त्रिशुली नदीमा समेत पर्न सक्ने देखिएको छ। त्यसैले त्रिशुली नदीको तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन आग्रह गरिएको छ।
सूचनामा त्रिशुली नदीको तटीय क्षेत्र मुग्लिनसम्म उच्च जोखिममा रहेकाले विशेष सतर्कता अपनाउन भनिएको छ।
यसअघि जिल्ला प्रशासन कार्यालय धादिङले पनि धादिङ हुँदै बग्ने त्रिशुली नदीमा अचानक बाढी आउन सक्ने भन्दै नदीको तटीय क्षेत्रमा बसोबास गर्ने तथा निर्माणाधीन र सञ्चालित आयोजनामा कार्यरत व्यक्तिलाई सतर्क रहन आग्रह गरेको थियो।
जिल्ला प्रशासन कार्यालय धादिङले नदीको बहाव बढ्न सक्ने भएकाले नदी किनारमा अनावश्यक आवतजावत नगर्न र जोखिम देखिए सुरक्षित स्थानमा जान आग्रह गरेको छ।
बाढी पूर्वानुमान महाशाखाले अर्को सूचना नआएसम्म उच्च सतर्कता अपनाउन भनेको छ।