लण्डन । बेलायतमा नेपाली उद्यमी छोङ शेर्पाले स्थापना गरेको सुसी फ्रेन्चाइज कम्पनी ‘इरो सुसी’ ले नेपालमा हालै आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको राहत तथा उद्धारका लागि २५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ।
कम्पनीले उपलब्ध गराएको उक्त रकम प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा जम्मा गरिएको हो। तत्कालीन राहत तथा उद्धार कार्यमा सहयोग पुर्याउने उद्देश्यले रकम उपलब्ध गराइएको इरो सुसीले जनाएको छ।
गत २६ अगस्टमा भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले रसुवा, नुवाकोट, धादिङ, गोरखा लगायतका क्षेत्रमा ठूलो जनधनको क्षति पुर्याएको छ। नेपाल सरकारका अनुसार बाढीपछि खोज, उद्धार तथा राहत कार्य निरन्तर जारी छ। गृह मन्त्रालयले बाढी प्रभावित क्षेत्रमा तत्काल उद्धारसँगै प्रभावित परिवारको दीर्घकालीन पुनर्स्थापना आवश्यक रहेको जनाएको छ।
बाढीको मानवीय क्षतिको पूर्ण विवरण अझै संकलन र प्रमाणीकरणकै क्रममा छ। संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (UNFPA) को पछिल्लो स्थिति प्रतिवेदनअनुसार १,२०४ जनाको मृत्यु पुष्टि भएको र करिब ४,२१६ जना अझै बेपत्ता रहेको उल्लेख छ। बाढीका कारण ठूलो संख्यामा मानिस विस्थापित भएका छन् भने स्वास्थ्य सेवा, सडक तथा यातायात पूर्वाधारमा समेत गम्भीर असर परेको छ।
सरकारी विवरणअनुसार खोज तथा उद्धार अभियानमा ठूलो संख्यामा सुरक्षाकर्मी र हेलिकप्टर परिचालन गरिएको छ। बेपत्ता व्यक्तिको खोजी तथा क्षतिग्रस्त संरचनाबाट उद्धार कार्यमा भारत, चीन र दक्षिण कोरियाका विशेषज्ञ टोलीले समेत सहयोग गरिरहेका छन्।
इरो सुसीले अहिलेको २५ लाख रुपैयाँ सहयोगलाई तत्कालीन राहतका लागि प्रारम्भिक योगदानका रूपमा लिएको जनाएको छ। कम्पनीका अनुसार बाढी प्रभावित क्षेत्रमा राहत वितरणको आवश्यकता तत्काल भए पनि प्रभावित परिवारको घर, जीविकोपार्जन तथा पूर्वाधार पुनर्निर्माणका लागि दीर्घकालीन सहयोग अझ महत्वपूर्ण हुनेछ।