२८ आश्विन २०८३, बुधबार
Follow Us

शेष घलेद्धारा भोटेकोशी बाढी प्रभावित बालबालिकाका लागि ५७ करोड ८५ को दीर्घकालीन सहयोग घोषणा

नेपालब्रिटेन संवाददाता
२ आश्विन २०८३, शुक्रबार १८:२५

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वअध्यक्ष शेष घलेले भोटेकोशी बाढीबाट प्रभावित बालबालिकाको शिक्षा तथा आधारभूत आवश्यकताका लागि दीर्घकालीन सहयोग गर्ने घोषणा गरेका छन्।

घलेले सामाजिक सञ्जालमार्फत आफ्नी पत्नी र आफू भोटेकोशी बाढीबाट प्रभावित बालबालिका तथा उनीहरूका परिवारले भोग्नुपरेको अवस्थाबाट गहिरो रूपमा प्रभावित भएको बताएका छन्।

घलेका अनुसार MIT Group Foundation ले राष्ट्रिय बाल अधिकार परिषद् (NCRC) सँगको समझदारीपत्र (MoU) मार्फत बाढीबाट प्रभावित १८ वर्षमुनिका योग्य बालबालिकालाई कक्षा १२ सम्म सहयोग गर्ने गरी अधिकतम ५७ करोड ८५ लाख रुपैयाँ (NPR 578.5 million) सम्मको दीर्घकालीन परियोजना बजेट प्रतिबद्ध गरेको छ।

उक्त सहयोगअन्तर्गत बालबालिकाको परिस्थितिअनुसार शिक्षा, खाना, आवास, कपडा, स्वास्थ्य उपचार तथा अन्य आवश्यक आधारभूत खर्च समेटिने घलेले बताएका छन्।

घलेले बाढीको पानी घटेपछि पनि प्रभावित बालबालिकाको समस्या समाप्त नहुने उल्लेख गर्दै उनीहरूको जीवनमा परेको असर लामो समयसम्म रहन सक्ने बताएका छन्। त्यसैले तत्काल राहतसँगै आगामी वर्षहरूमा पनि उनीहरूको शिक्षा र भविष्यका अवसर सुनिश्चित गर्न सहयोग गर्ने उद्देश्य रहेको उनको भनाइ छ।

उनले यो पहल आर्थिक सहयोगमा मात्र सीमित नभई प्रभावित बालबालिकालाई उनीहरूको कठिन अनुभवले भविष्यका अवसर निर्धारण नगरोस् भन्ने दीर्घकालीन प्रतिबद्धता भएको बताएका छन्।

“उनीहरूलाई बिर्सिएका छैनौँ भन्ने अनुभूति गराउन चाहन्छौँ,” घलेले आफ्नो सामाजिक सञ्जालमार्फत उल्लेख गरेका छन्।

धेरै पढिएको