५ आश्विन २०८३, सोमबार
Follow Us

डायस्पोरा इन्भेस्टमेन्ट कम्पनीमा ढुक्क भएर लगानी गर्न एनआरएन अगुवाको आग्रह

नेपालब्रिटेन संवाददाता
३ आश्विन २०८३, शनिबार २२:४३

लण्डन । डायस्पोरा इन्भेस्टमेन्ट कम्पनीमार्फत नेपालको पुनर्निर्माण, भौतिक पूर्वाधार तथा विकास निर्माणमा लगानी गर्न गैरआवासीय नेपाली (एनआरएन) अगुवाहरूले प्रवासी नेपालीलाई आग्रह गरेका छन्।

डायस्पोरा इन्भेस्टमेन्ट कम्पनीले अमेरिका, युरोप र अफ्रिकामा रहेका प्रवासी नेपालीहरूसँग नेपालको पुनर्निर्माण, भौतिक पूर्वाधार तथा विकास निर्माणमा प्रवासी नेपालीको भूमिकासम्बन्धी विशेष अन्तरक्रिया कार्यक्रम आयोजना गरेको थियो। कार्यक्रममा बोल्ने वक्ताहरूले नेपालमा लगानी गर्ने उपयुक्त समय आएको भन्दै सामूहिक लगानीमार्फत योगदान गर्न आग्रह गरेका हुन्।

शुक्रबार भर्चुअल माध्यमबाट आयोजित कार्यक्रममा गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वअध्यक्ष जीवा लामिछानेले गैरआवासीय नेपालीहरूले यसअघि सुरु गरेको सामूहिक लगानीको परियोजना सफल भएको उदाहरण प्रस्तुत गर्दै डायस्पोरा इन्भेस्टमेन्ट कम्पनीमा पनि ढुक्क भएर लगानी गर्न आग्रह गरे।

लामिछानेका अनुसार सन् २०१३ मा स्थापना भएको एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट कम्पनीको अनुभव पनि नयाँ कम्पनी निर्माणको आधार बनेको हो।

सन् २०१३ मा लामिछानेको नेतृत्वमा स्थापना भएको एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट कम्पनीमा करिब ९ सय जना लगानीकर्ता सहभागी भएका थिए।

कार्यक्रममा गैरआवासीय नेपाली संघका निवर्तमान अध्यक्ष महेश कुमार श्रेष्ठले नेपालमा हाल देखिएको पूर्वाधारको क्षति पुनर्निर्माण गर्न सरकारको बजेट मात्र पर्याप्त नहुने भएकाले विदेशमा रहेका नेपालीको लगानीलाई व्यवस्थित रूपमा नेपाल भित्र्याउनुपर्ने बताए।

उनले विपद्को समयमा लगानी कम्पनीको चर्चा गर्नु असान्दर्भिक जस्तो देखिए पनि यसको उद्देश्य तत्कालीन राहतभन्दा धेरै पर रहेको र दीर्घकालीन पुनर्निर्माण तथा पुनर्संरचनासँग जोडिएको बताए।

‘अहिले यस्तो विपत्को बेलामा उद्धार र राहतको कुरा गर्नुपर्ने समयमा कहाँबाट फेरि यो कम्पनीको कुरा गर्न लागियो भन्ने बुझाइ पनि हुन सक्छ,’ श्रेष्ठले भने, ‘तर हाम्रो बुझाइ के छ भने, पहिलो चरणमा त हामीले उद्धार, राहत र पुनर्स्थापनाका कामहरू गर्नुपर्ने नै हुन्छ। त्यससँगसँगै अहिले हाम्रो जिम्मेवारी भनेको पुनर्निर्माण र पुनर्संरचना गर्ने पनि हो।’

एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट कम्पनीमा लगानी गर्नेहरूले राम्रो प्रतिफल पाएको र त्यसपछि धेरै लगानीकर्ताबाट पुनः यस्तै प्रकृतिको सामूहिक लगानी कम्पनी स्थापना गर्न आग्रह आएको श्रेष्ठले बताए।

‘त्यसको सफलतासँगै धेरै लगानीकर्ताहरूबाट फेरि त्यस्तै किसिमको कम्पनी खोल्नुप¥यो भन्ने अनुरोध पनि आएको थियो,’ उनले भने।

कार्यक्रममा डायस्पोरा इन्भेस्टमेन्ट कम्पनीका निर्देशक रोविन शेरचनले विदेशमा बस्ने नेपालीहरूलाई नेपालमा लगानी गर्न आग्रह गरे।

कार्यक्रममा डायस्पोरा इन्भेस्टमेन्ट कम्पनीको उद्देश्य, अवधारणा तथा लगानी योजनाबारे विस्तृत जानकारी दिइएको थियो। साथै, नेपालको पुनर्निर्माण, भौतिक पूर्वाधार तथा विकास निर्माणमा कम्पनीले निर्वाह गर्न सक्ने भूमिकाका विषयमा छलफल गरिएको थियो।

धेरै पढिएको