लण्डन । नेपाली जनसम्पर्क समिति बेलायतको सभापतिमा हितकाजी गुरुङ सर्वसम्मत चयन भएका छन्।
नेपाली जनसम्पर्क समिति बेलायतका सभापति युवराज गुरुङ समूहको बहिष्कार तथा क्रियाशील सदस्यता विवादबीच बिहीबार अबेर अल्डरशटमा भएको भेलाले गुरुङको नेतृत्वमा नयाँ कार्यसमिति घोषणा गरेको हो।
सहमति अनुसार हितकाजी गुरुङको कार्यकाल दुई वर्षको हुनेछ। त्यसपछि अक्टोबर २०२८ देखि वरिष्ठ उपसभापति इन्द्रहाङ लिङ्देनले नेपाली जनसम्पर्क समिति बेलायतको नेतृत्व गर्ने सहमति भएको छ।
नेपाली कांग्रेसका केन्द्रीय प्रतिनिधि देवु शर्माको विशेष उपस्थितिमा भएको सहमतिअनुसार नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी हुने प्रतिनिधिमण्डलको नेतृत्व इन्द्रहाङ लिङ्देनले गर्ने भएका छन्।
सहमति अनुसार शेरबहादुर सुनार, महेश दाहाल, युवराज सिंह, विश्वआदर्श पण्डित, लोक गुरुङ, कोपिला सुब्बा, रितेश पाण्डे, प्रताप खरेल, कमला तामाङ र राजेन्द्र सुवेदी महाधिवेशन प्रतिनिधि रहनेछन्।
त्यस्तै, महासमिति सदस्यमा विश्वआदर्श पण्डित, शेरबहादुर सुनार, महेश दाहाल, खुसी लिम्बु र कोपिला सुब्बाको नाम प्रस्ताव गरिएको छ।
नयाँ कार्यसमितिमा एक उपसभापति र एक महामन्त्री हितकाजी गुरुङले चयन गर्ने तथा बाँकी कार्यसमितिको जिम्मेवारी इन्द्रहाङ लिङ्देनलाई दिने सहमति भएको छ।
यसअघि नेपाली कांग्रेसले नेपाली जनसम्पर्क समिति बेलायतको अधिवेशन सम्पन्न गर्न शेरबहादुर सुनारलाई संयोजक तोकेको थियो। उनको संयोजकको कार्यकाल बिहीबार रातिबाट समाप्त भएको छ।