२० आश्विन २०८३, मंगलवार
Follow Us

दशैंको अग्रिम टिकट बुकिङ २३ असोजदेखि खुला हुने

नेपालब्रिटेन संवाददाता
२० आश्विन २०८३, मंगलवार ११:१४

काठमाडौं । यस बर्षको नजिकिँदै गरेको दशैं, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ २३असोजदेखि खुल्ला गर्ने भएको छ । यातायात व्यवस्था विभागमा मंगलबार सरोकारवाला निकायहरूबीच भएको उच्चस्तरीय बैठकले यस्तो निर्णय गरेको हो ।

चाडबाडको समयमा काठमाण्डूबाट बाहिरिने यात्रुहरूको सहजताका लागि विभागको आयोजनामा यातायात व्यवसायी राष्ट्रिय महासंघ, यातायात श्रमिक संगठनहरू, नेपाल प्रहरी, ट्राफिक प्रहरी र नयाँ बसपार्क व्यवस्थापक ल्होत्से बहुउद्देश्यीय प्रा.लि.का प्रतिनिधिबीचको छलफलपछि असोज २३ गतेदेखि अग्रिम बुकिङ खुला गर्ने सहमति जुटेको अखिल नेपाल यातायात मजदुर संगठनका अध्यक्ष दिपक केसीले जानकारी दिएका छन ।

यस वर्षको दशैं अवधिमा १० लाखभन्दा बढी यात्रुले काठमाण्डू उपत्यका छाड्ने अनुमान छ । अग्रिम टिकट बुकिङ नखुल्दा र केही कम्पनीले मात्र अनलाइन बुकिङ लिइरहँदा सर्वसाधारण यात्रुमा छाएको अन्योल यस निर्णयसँगै हटेको छ ।

बैठकले यात्रुको सुरक्षा, सुविधा र यातायात व्यवस्थापनलाई मर्यादित बनाउन विभिन्न महत्त्वपूर्ण निर्णयहरू पनि गरेको छ। निर्णयअनुसार, अब लामो दूरीका सवारीसाधनमा अनिवार्य रूपमा दुई जना चालक राख्नुपर्नेछ ।

टिकट काउन्टरमा बस्ने कर्मचारीले अनिवार्य रूपमा परिचयपत्र र युनिफर्म लगाउनुपर्नेछ भने, टिकट काट्दा यात्रुको नाम र सम्पर्क नम्बर अनिवार्य रूपमा अभिलेख राख्नुपर्नेछ ।

धेरै पढिएको