२० आश्विन २०८३, मंगलवार
Follow Us

कांग्रेस महाधिवेशन: नेतृत्वका लागि उम्मेदवारी दर्ताको रौनक

नेपालब्रिटेन संवाददाता
२० आश्विन २०८३, मंगलवार ११:१७

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता प्रक्रिया तीव्र बनेको छ ।

मंगलबार काठमाडौंको राष्ट्रिय सभागृहमा पुगेर पार्टीका विभिन्न तहका नेताहरूले उपसभापति, महामन्त्री, सहमहामन्त्री तथा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवारी दर्ताका क्रममा विभिन्न पदमा प्रतिस्पर्धा गर्ने नेताहरूको लर्को लागेको छ ।

महामन्त्री पदका लागि नैनसिंह महरले औपचारिक रूपमा मनोनयन दर्ता गराएका छन् । यसअघि प्रदीप पौडेल र डा. सुनीलकुमार शर्माले पनि महामन्त्री पदमा उम्मेदवारी दिएका छन् ।

उपसभापति पदमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, समावेशी समूहबाट विनोद चौधरी तथा जीवन परियारले उम्मेदवारी दिएका छन् । महिलातर्फको उपसभापति पदमा पुष्पा भुसालले उम्मेदवारी दर्ता गराएकी छन् ।

महामन्त्री पदमा महिलातर्फ डा. डिला संग्रौला, महालक्ष्मी उपाध्याय ‘डिना’ र रीता खनालले उम्मेदवारी दिएका छन् । त्यस्तै, सहमहामन्त्री पदका लागि देवेन्द्रराज कँडेल र मनोजमणि आचार्यले उम्मेदवारी दिएका छन् । केन्द्रीय सदस्य पदमा बासना थापाले पनि उम्मेदवारी दर्ता गराएकी छन् ।

कांग्रेसको आगामी नेतृत्व चयनका लागि देशभरबाट आएका ७ हजार १ सय १४ महाधिवेशन प्रतिनिधिले मतदान प्रक्रियामा भाग लिनेछन् ।

उम्मेदवारी दर्तासँगै कांग्रेसभित्र चुनावी सरगर्मी थप बढेको छ । उम्मेदवारहरूले आफ्नो पक्षमा मत तान्न विभिन्न गठबन्धन तथा प्यानल निर्माणका लागि छलफललाई समेत तीव्रता दिएका छन् ।

धेरै पढिएको