काठमाडौं । जिल्ला अदालत काठमाडौँले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई धरौटीमा छाड्न आदेश दिएको छ । जिल्ला न्यायाधीश उमेशप्रसाद लुइँटेलको इजलासले मंगलबार विद्युतीय (इलेक्ट्रोनिक) कारोबारसम्बन्धी कसुरमा प्रसाईंसँग दुई लाख धरौटी लिएर छाड्न आदेश दिएको हो ।
प्रसाईंलाई असार १२ मा साइबर ब्युरोले पक्राउ गरेको थियो । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद रचना खतिवडाको उजुरीका आधारमा प्रहरीले उनलाई विद्युतीय अपराध ऐनसम्बन्धी कसुरमा मुद्दा दर्ता गरेको थियो ।
प्रसाईंले युट्युबमा खतिवडाबारे टिप्पणी गर्दै छोराको शवसँग सांसद पद साटेको भनेका थिए । प्रसाईं यसअघि पनि पटकपटक पक्राउ पर्दै धरौटीमा छुटेका थिए ।
दुई वर्षको अवधिमा प्रसाईलाई प्रहरीले विभिन्न कसुरमा १६ पटक पक्राउ गरे पनि अदालतले उनलाई धरौटीमा छाड्दै आएको छ । मंगलबार सर्वोच्च अदालतले प्रसाईको मुद्दा जिल्ला अदालतमा दर्ता भइसकेकाले त्यहीँ सुनुवाइ गर्ने भन्दै बन्दी प्रत्येक्षीकरणको रिट निवेदनमा रिहा गर्न अस्वीकार गरेको थियो ।