खेल

दशौँ राष्ट्रिय खेलकुदमा १७ देशका ४४ एनआरएन खेलाडी सहभागी हुने

आवश्यक आर्थिक स्रोत जुटाउनु संघका लागि चुनौती

लण्डन । आगामी डिसेम्बर २ देखि १५ सम्म सुर्खेतमा आयोजना हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता–२०८३ मा गैरआवासीय नेपाली संघ (एनआरएनए) को टोलीले सहभागिता जनाउने भएको छ।

एनआरएनए स्पोर्ट्स एकेडेमीले सहभागिताका लागि आह्वान गरेको आवेदनमा १७ देशबाट ४४ जना खेलाडीले ११ विधाका खेलमा प्रतिस्पर्धा गर्न आवेदन दिएका छन्। आवेदन दिने खेलाडीमध्ये २३ जना ३० वर्षमुनिका रहेका छन्।

गैरआवासीय नेपाली संघका अध्यक्ष डा. हेमराज शर्माले विदेशमा जन्मेहुर्केका दोस्रो पुस्ताका गैरआवासीय नेपालीलाई नेपालसँग जोड्न राष्ट्रिय खेलकुद प्रतियोगिता महत्वपूर्ण अवसर भएको बताए। खेलकुदमार्फत विदेशमा रहेका नेपाली युवाको मातृभूमिसँगको सम्बन्ध थप बलियो बनाउन सकिने उनको भनाइ छ।

यसअघिको राष्ट्रिय खेलकुद प्रतियोगितामा एनआरएनएको टोलीले उत्कृष्ट प्रदर्शन गर्दै १७ स्वर्ण, ७ रजत र ८ कांस्य गरी कुल ३२ पदक जितेको थियो। यसपटक पनि सशक्त सहभागिता र उल्लेखनीय उपलब्धिको अपेक्षा गरिएको छ।

यद्यपि, सहभागी खेलाडी तथा प्रशिक्षकहरूको व्यवस्थापनका लागि आवश्यक आर्थिक स्रोत जुटाउनु संघका लागि चुनौती बनेको छ। खेलाडीहरूले हवाई टिकटको खर्च आफैँ व्यहोर्ने भए पनि नेपाल पुगेपछि उनीहरूको प्रशिक्षण, आवास, यातायात तथा प्रशिक्षक व्यवस्थापनका लागि ७० लाख रुपैयाँभन्दा बढी खर्च हुने अनुमान एनआरएनए स्पोर्ट्स एकेडेमीले गरेको छ। त्यस्तै, पदक विजेता खेलाडीहरूलाई पुरस्कार प्रदान गर्न थप २० देखि २५ लाख रुपैयाँ आवश्यक पर्ने अनुमान गरिएको छ।

खेलकुद गतिविधिका लागि संघको सचिवालयमा छुट्टै बजेट व्यवस्था नभएकाले वर्तमान तथा पूर्वपदाधिकारीहरूको व्यक्तिगत सहयोग र व्यावसायिक प्रायोजकहरूको भर पर्नुपर्ने अवस्था रहेको संघले जनाएको छ।

यसका लागि सहभागी खेलाडीहरू बसोबास गर्ने देशका एनआरएनए राष्ट्रिय समन्वय परिषद् (एनसीसी) हरूसँग आर्थिक सहयोगको अपेक्षा गरिएको छ। विशेषगरी यूएई, अमेरिका, अस्ट्रेलिया, बेलायत र क्यानडालगायतका देशमा रहेका एनसीसीहरूलाई सहयोगका लागि आग्रह गरिएको छ।

विदेशमा रहेका नेपाली खेलाडीहरूको प्रतिभा राष्ट्रिय स्तरमा प्रस्तुत गर्ने र नयाँ पुस्तालाई नेपालसँग जोड्ने उद्देश्यसहित एनआरएनएको सहभागितालाई महत्वपूर्ण रूपमा हेरिएको छ।

About the author
नेपालब्रिटेन डट कम

नेपालब्रिटेन डट कम