ताजा खबर

स्पेनमा १४ वर्षपछि पहिलो आमहडताल, बार्सिलोनामा प्रहरी र प्रदर्शनकारीबीच झडप

बार्सिलोना । स्पेनमा १४ वर्षपछि पहिलोपटक भएको देशव्यापी आमहडतालका क्रममा बार्सिलोनामा प्रदर्शनकारी र प्रहरीबीच हिंसात्मक झडप भएको छ। आवास संकट र बढ्दो महँगीको विरोधमा देशका प्रमुख ट्रेड युनियनहरूले आह्वान गरेको हडतालमा हजारौँ मानिस सहभागी भएका छन्।

राजधानी म्याड्रिडमा करिब १ लाख २० हजार र बार्सिलोनामा ५० हजारभन्दा बढी मानिसले प्रदर्शनमा सहभागिता जनाएको बताइएको छ।

बार्सिलोनामा प्रदर्शनका क्रममा मुखौटा लगाएका केही व्यक्तिहरूले सडकका फोहोर राख्ने डस्टबिनमा आगजनी गर्नुका साथै पसलका सिसा फुटाएका थिए। स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो।

स्थानीय सञ्चारमाध्यमका अनुसार केही प्रदर्शनकारीले प्रहरीतर्फ पटाका प्रहार गरेका थिए भने लेगो स्टोरलगायतका पसलमा लुटपाटसमेत भएको थियो। केही प्रदर्शनकारीले एप्पल स्टोरमा प्रवेश गर्ने प्रयास पनि गरेका थिए।

हडतालका कारण स्पेनभर यातायात तथा अन्य सार्वजनिक सेवामा व्यापक अवरोध सिर्जना भएको थियो। म्याड्रिड र बार्सिलोनाका प्रमुख सडकहरूमा सवारी आवागमनसमेत प्रभावित भएको थियो।

स्पेनको गृह मन्त्रालयले विभिन्न घटनामा संलग्न भएको आरोपमा दर्जनौँ व्यक्तिलाई पक्राउ गरिएको जनाएको छ। स्पेनी सञ्चारमाध्यमका अनुसार केही घरजग्गा कारोबार गर्ने कार्यालयहरूमा समेत आक्रमण भएको छ।

देशका प्रमुख श्रमिक संगठन UGT का प्रमुख पेपे अल्भारेजले हडताललाई सफल भन्दै यसमा व्यापक सहभागिता रहेको बताएका छन्। त्यस्तै, CC OO युनियनका नेता उनाइ सोर्डोले पनि हडतालमा सहभागिता उल्लेखनीय रहेको बताएका छन्।

यसैबीच, स्पेनमा आगामी नोभेम्बर २९ मा संसदीय निर्वाचन हुँदैछ। निर्वाचनको केही साताअघि भएको यस आमहडतालले देशको राजनीतिक तथा आर्थिक वातावरण थप तनावपूर्ण बनाएको छ।

प्रदर्शनकारीहरूले आवासको बढ्दो मूल्य, जीवनयापनको महँगी र सर्वसाधारणमाथि परेको आर्थिक भार कम गर्न सरकारसँग माग गरेका छन्।

About the author
नेपालब्रिटेन डट कम

नेपालब्रिटेन डट कम