३१ बैशाख २०८१, सोमबार
Follow Us

बाढीपीडितका लागि एनआरएन अध्यक्ष घलेद्वारा १ करोड सहयोग

नेपालब्रिटेन डट कम्
२९ श्रावण २०७४, आईतवार १०:५९

काठमाडौं । दर्जनौंको मृत्यु र हजारौं परिवार घरवारविहीन हुनेगरी तराईमा आएको बाढी पहिरो पीडितलाई राहत प्रदान गर्न गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आपतकालीन राहत कोषको स्थापना गरेको छ । कोषमा अध्यक्ष शेष घले र जमुना घलेले एक करोड रुपैयाँ सहयोगको प्रतिवद्धता जनाएका छन् ।

एनआरएनए अन्तराष्ट्रिय समन्वय परिषदको आइतबार बसेको आकस्मिक बैठकले आपतकालीन राहत प्रदानका लागि कोष स्थापना गर्ने र तत्कालै राहत वितरणमा खटिने निर्णय गरेको छ । ‘यो दुःखको घडीमा हामी देशबासीको साथमा छौं’ अध्यक्ष घलेले भने- बैठकबाट हामीले एक करोड बढी रकम संकलन गरिसकेका छौं, आवश्यक राहत सामाग्री खरिद गरी हामी तत्कालै वितरणमा खटिने छौं ।’

संघका अध्यक्ष घले र उनकी पत्नी जमुना गुरुङको एमआईटी फाउण्डेसनले बाढी पीडितका लागि १ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।

साथै एनआरएनका संरक्षक जीवा लामिछाने, उपाध्यक्षहरु भवन भट्ट र कुमार पन्तले एक/एक लाख रुपैयाँ सहयोग गरेका छन् । संघका अन्य पदाधिकारी र सदस्यहरुले पनि सहयोग गर्ने घोषणा गरिसकेका छन् ।

बाढीपहिरो पीडितलाई के-कस्तो सहयोग जरुरी छ भनी संघका अध्यक्षले आइतबार नै गृहमन्त्री जनार्दन शर्मासँग टेलीफोनमा छलफल गरेका थिए । सहयोगको आवश्यकताबारे गृहमन्त्रालयले विस्तृतमा जानकारी दिएपछि सोही आधारमा राहत सामाग्री उपलब्ध गराउने संघले निर्णय गरेको छ ।