२५ बैशाख २०८१, मंगलवार
Follow Us

फरार १२ कैदी नियन्त्रणमा लिन कठिन

नेपालब्रिटेन डट कम्
१० आश्विन २०७४, मंगलवार ११:२०

चौतारा । विसं २०७२ वैशाख १२ गते आएको विनाशकारी भूकम्पसँगै सिन्धुपाल्चोक कारागारबाट भागेका कैदीमध्ये १२ जना विदेशी नागरिकलाई पक्राउ गर्न सकिएको छैन ।
विभिन्न अभियोगमा कैद सजाय भोगिरहेका फरार स्वदेशी नागरिकलाई क्रमिकरुपमा प्रहरीले नियन्त्रणमा लिए पनि नौ चिनियाँ, दुई भारतीय र एक पाकिस्तानी नागरिकलाई नियन्त्रणमा लिन कठिनाइ भइरहेको छ ।

सुन तस्करीको अभियोगमा लिजुएन, जुल्पिङ झो पिङलगायत नौ जना चिनियाँ नागरिकलाई जिल्ला अदालत सिन्धुपाल्चोकले दश वर्षभन्दा माथिको कैद सजाय सुनाएको थियो । उनीहरुलाई थुनुवा कोठामा राखिएको थियो ।

त्यसैगरी, भारतको पश्चिम बंगाल कालिङपोङ–६ निवासी तेञ्जिङ छिरिङ भुटियालाई आठ वर्ष कैद र रु नौ लाख ८५ हजार ३१६ जरिवाना तोकिएको थियो । भारतको उत्तर प्रदेशको बहराइच राम नजिद्दर निवासी मोहम्मद इब्राहिमलाई सुन तस्करी र हातहतियार खरखजाना मुद्दामा नौ वर्ष कैद तथा रु एक लाख जरिवाना गरिएको थियो । त्यस्तै खोटा सिक्का नोट चलन गरेका अभियोगमा कैद सजाय भोगिरहेका एक पाकिस्तानी नागरिक पनि जेलबाट फरार भएकाको सूचीमा छ ।

फरार विदेशी नागरिकका हकमा गोरखापत्रमा सूचना प्रकाशन गर्ने मात्र आफूहरुको काम भएको अदालतका श्रेस्तेदार महेन्द्रबहादुर कार्की बताउनुहुन्छ । कारागारबाट भागेका नेपाली कैदीलाई क्रमिकरुपमा पक्राउ गरिएको र विदेशी नागरिकको हकमा तातोपानीस्थित सीमानाकामा तैनाथ चिनियाँ सुरक्षाकर्मी र भारतीय सीमा नाकाका सुरक्षाकर्मीसँग सम्पर्क राख्ने काम भइरहेको प्रहरी उपरीक्षक मोहनप्रसाद पोखरेलले बताउनुभयो ।

भूकम्प आएलगत्तै कारागारबाट २१६ जना कैदी भागेका थिए । फरारमध्ये ११८ जना सम्पर्कमा आइसकेका छन् र अझै ९८ जना सम्पर्कमा आउन बाँकी छ । फरार रहेकामध्ये सुन तथा अखेटोपहार तस्करी, जबर्जस्ती करणी, मानव बेचबिखन, कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, डाँका, चोरीलगायतका अभियोगमा सजाय भोगिरहेका थिए । भागेका कैदीलाई प्रहरीले पुनः पक्राउ गरेपछि थप सजाय हुने भएकाले कैद भुक्तान हुन थोरै समय बाँकी रहेकाहरु भने स्वयं उपस्थित भई इमान्दारिता देखाएको जिल्ला कारागार शाखाले जनाएको छ ।

प्रहरीले पक्राउ गरेकामा २०५९ सालदेखि फरार रहेकाहरु छन् । सुन चोरी पैठारी अभियोगमा चार वर्ष कैद तथा रु २० करोड जरिवाना तोकिएको भोटेकोशी गाउँपालिका लिस्ती निवासी दावा तामाङ र डेढ वर्ष कैद र रु छ लाख ८१ हजार ७८३ जरिवाना तोकिएका भ्रष्टाचारी मुद्दाका अभियुक्त मेलम्ची नगरपालिका–२ भोटेचौर निवासी श्रीराम खतिवडालाई प्रहरीले हालै नियन्त्रणमा लिएको छ ।

सम्पर्कमा आइसकेका फरार अभियुक्तलाई स्थान अभावले विभिन्न जिल्लामा पठाउने गरेको सो शाखाले जानकारी दिएको छ ।