१५ बैशाख २०८१, शनिबार
Follow Us

शीतलहरको कारण वीरगञ्जमा जनजीवन प्रभावित

sarusaru
५ पुष २०७४, बुधबार ०४:३३

वीरगन्ज : ठिहिर्‍याउने ठन्डी (चिसो) भए पनि रानीघाटका हरनाथ यादवलाई रिक्सा चलाउनै परेको छ। मंगलबार वीरगन्जमा भेटिएका यादवले भने, ‘ठन्डी धेरै छ भनेर रिक्सा नचलाए बेलुका बालबच्चाको पेटमा माड पर्दैन।’

पाँच दिनयता लगातार बाक्लो हुस्सु तथा शीतलहर चलेका कारण रौतहटसँगै पर्सा, बारासहित तराई-मधेसका जिल्लाका बासिन्दाको जनजीवन कष्टकर बनेको छ। बाराको सिमरास्थित जल तथा मौसम विभागको फिल्ड कार्यालयका अनुसार पर्सा, बारा र रौतहटमा मंसिर २९ गतेयता अधिकतम तापक्रम १०-१२ डिग्री सेल्सियस छ।

मंसिर मसान्तदेखि लगातार घाम लागेको छैन। बिहान र बेलुकी शीतलहर चल्दा न्यानो न्याना कपडा किन्न नसक्नेहरूको दैनिकी निकै कष्टकर बनेको छ। रौतहटको कटहरिया डुमरिया टोलका प्रदीप माझी मुसहरले चिसोबाट बच्न दुईवटा सुकुल (गुन्द्री) किनेका छन्। खरले छाएको झुपडीमा बस्दै आएका प्रदीपजस्तै अन्यले पनि जाडो छल्न परालको सुकुल (गुन्द्री) किनेका छन् भने केहीले पराल जोहो गरेर आफैं सुकुल बुन्ने गरेका छन्।

‘कम्बल र रजाई (सिरक) किनेर ओढ्ने हैसियत छैन’, प्रदीपले भने, ‘ठन्डी (चिसो)बाट बच्न यही पुअरा (पराल)को सुकुल ओढेरै रात बिताउने गरेका छौं।’

गरिब तथा दलित बस्तीका बासिन्दाले चिसोबाट बच्न पराल बालेर ताप्दै आएका छन्। ओढ्ने-ओछ्याउने नहुँदा धेरै स्थानीय समस्यामा छन्। कतिपय ओछ्याउने सामान अभावमा चिसो भुइँमा पराल ओछ्याएर सुत्न बाध्य छन्। मुसहर समुदायले परालको सुकुलले जाडो भरथेग गर्ने गरेको रौतहटका मुसहर अगुवा अनुप माझी मुसहरले बताए।

साउन अन्तिम साता बाढीले घरबारविहीन बनेकाहरू अझै पालमैै बस्दै आएका कारण उनीहरू यो शीतलहरमा झनै पीडित छन्। खुला स्थानमा मजदुरी गर्ने तथा सहर-बजारमा रिक्सा, ठेला तान्नेहरूलाई पनि चिसोको बढी असर परेको छ। चिसोले बालबालिका तथा वृद्धवृद्धा प्रभावित भएका छन्। बालबालिकालाई विद्यालय जान पनि समस्या परेको छ। शीतलहर चल्न थाले पनि यहाँका विद्यालयमा बिहानी कक्षा सञ्चालनमै छ।

सामुदायिक विद्यालयमा दोस्रो त्रैमासिक परीक्षा सञ्चालन भइरहेका कारण बिदा दिन नसकिएको पर्साका जिल्ला शिक्षा अधिकारी बरखुप्रसाद रजकले बताए। पर्साका प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहले भने जाडोयामभर निमावि तहका विद्यालयमा बिहानी कक्षा सञ्चालन नगर्न जिल्ला शिक्षा कार्यालयलाई निर्देशन दिएको जानकारी दिए।

यो वर्ष पनि शीतलहर र बाक्लो हुस्सुका कारण बाराका अति विपन्न परिवार बढी प्रभावित भएका छन्। बिहान-बेलुकाको छाक टार्न हम्मेहम्मे पर्ने परिवारलाई शीतलहरले सास्ती थपिदिएको छ। शीतलहरको मारमा मुसहर, डुम बस्ती बढी प्रभावित छन्। नितनपुर, जितपुर, मनहर्वालगायत स्थानका मुसहर र डुम समुदायलाई चिसोबाट ज्यान जोगाउने चिन्ताले सताउन थालेको छ। ज्यान जोगाउन रातभर आगो तापेर बस्नुपर्ने पीडामा रहेको मनहर्वाका सञ्जय माझीले बताए।

लगातारको शीतलहरले जाडो अत्यधिक बढेपछि जिल्ला दैवी प्रकोप उद्धार समिति पर्साले नगर तथा ग्रामीण भेगमा अति विपन्न परिवारलाई कम्बल बाँड्ने भएको छ। वीरगन्जमा सोमबार बसेको समितिको बैठकले प्रत्येक गाउँपािलकामा एक सय, नगरपालिकामा दुई सय र महानगरपालिकामा पाँच सय थान कम्बल वितरण गर्ने निर्णय गरेको हो।

‘अहिले कम्बल संकलन भइरहेको छ’, समितिका संयोजकसमेत रहेका प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहले भने, ‘बिहीबारदेखि बाँड्ने काम पनि सुरु हुन्छ।’ चोक-चोकमा आगो ताप्ने व्यवस्था पनि मिलाउन लागेको जानकारी उनले दिए। ‘अति न्यून शुल्कमा दाउरा उपलब्ध गराइदिन जिल्ला वन कार्यालयलाई आग्रह गरिसकेका छौं’, उनले भने, ‘वन कार्यालयले उपलब्ध गराउने दाउरा ढुवानीसहित ठाउँ-ठाँउमा बालेर ताप्ने व्यवस्था सम्बन्धित स्थानीय तहले गर्छ।’

शीतलहरले जनजीवन प्रभावित हुन थालेपछि बारामा पनि जिल्ला दैवी प्रकोप उद्धार समितिले सञ्चारमाध्यमबाट सन्देश प्रवाह गर्ने अनि जिल्ला वन कार्यालयबाट न्यूनतम शुल्कमा स्थानीय तहलाई दाउरा उपलब्ध गराउने निर्णय गरेको छ। रौतहटका निमित्त प्रमुख जिल्ला अधिकारी रमेश अधिकारीले स्थानीय तह विपद व्यवस्थापन समितिलाई न्यानो कपडा व्यवस्थापन गर्न लगाउने, एउटा नगरपालिकालाई मागअनुसार दाउरा उपलब्ध गराउने, तत्काल राहत वितरणका लागि जिल्ला समन्वय अधिकारी उमेश बस्नेतको संयोजकत्वमा समिति बनाइएको जानकारी दिए।

अस्पतालमा बिरामीको संख्या बढ्यो
चिसो बढेपछि सरकारी अस्पताल र निजी क्लिनिकहरूमा दम, ज्वरो, रुघाखोकीलगायत रोगका बिरामीको संख्या पनि बढेको छ। वीरगन्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा सहरीभन्दा पनि ग्रामीण भेगबाट बढी बिरामी आइरहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. एमामुलले बताए। ‘चिसोमा खासगरी दम, ज्वरो, श्वासप्रश्वास र रुघाखोकीका बिरामी बढी आइरहेका छन्’, उनले भने, ‘चिसो बढेसँगै अस्पालमा बिरामीको चाप पनि बढेको छ।’

– अन्नपूर्ण पोष्टबाट ।