२६ बैशाख २०८१, बुधबार
Follow Us

ब्लडमनी तिर्न नपर्ने पनि अझै जेलमा

नेपालब्रिटेन डट कम्
१ भाद्र २०७३, बुधबार ०८:३८

काठमाडौं– ब्लडमनि तिर्न नपर्ने अवस्थामा रहेका प्रवासी नेपालीहरुको समेत सरकारी उदासिनताका कारण उद्धार नहुँदा दुःख पाउनु परेको पीडित परिवारहरुले गुनासो गरेका छन् ।
साउदी अरबमा सवारी दुर्घटनाका क्रममा जेल परेकाहरु मध्ये कतिपयको ब्लडमनी तिर्न नपर्ने अवस्थामा रहेको नेपाली साझा मञ्चद्वारा काठमाडौमा आयोजित पत्रकार सम्मेलनमा पीडित परिवारहरुले बताएका हुन् ।
साउदी अरबमा जेलमा परेका आफन्तलाई जेलमुक्त गराउन पटकपटक मन्त्रालय र विभाग धाएर मन्त्री, नेतालाई पटकपटक भेटेर लिखित मौखिक अनुरोध गरे पनि केही सुनुवाई नभएको उनीहरुले दुखेसो गरे ।
एक लाख ३७ हजार रुपैयाँ मात्रै बझाउन नसकेर साउदी अरबमा सातवर्ष सात महिना जेल भोगेर बाहिर आउदा पनि जेलमुक्त भएको कागजात नपाएर सिरहाका सुरेश मण्डल नेपाल आउन पाएका छैनन् । यसबीचमा उनका पिता रवि मण्डलले छोरालाई जेलमुक्त गराउन भन्नुपर्ने र गुहार्नु पर्ने सबै ठाउँ पुगे । सात वर्ष सात महिना पुगेपछि साउदी सरकारको माफीमा परेरका उनलाई त्यहीको एक साउदी प्रहरीले जमानतमा छुटाएको भन्दै आफ्नो बाख्रो गोठालो बनाउन खोजेको थियो । उनी त्यहाँबाट निस्केर अहिले जेलबाहिर जेल मुक्त भएको कागजपत्र अभावमा अवैध भएर भौतारिरहेका छन् । पत्रकार सम्मेलनमा मण्डलका आमाले रुदैं आफ्नो छोरोलाई साउदीबाट नेपाल ल्याईदिन सरकारसँग माग गरेकी छिन् ।
साढे चार वर्षअघि सवारी दुर्घटनामा परेर जेलजीवन भोगिरहेका मोरंगका भीमबहादुर दाहालका श्रीमती लक्ष्मी दाहालले छोरो पेटमै हुँदा साउदीको जेलमा परेको श्रीमान्ले अब छुटेर आउँछु होला भनेर भनेका थुप्रै रमादान र ईद गइसक्यो तर छुट्न नसकेको पीडा पोखिन् । ब्लडमनी माग नगरिएका उनलाई छुटाउन सरोकारवाला संस्था र सरकारी निकायको दैलो चाहारेको वर्षौ भए पनि छुट्न नसकेको पीडा आँशु बगाएर सुनाइन । “ब्लडमनि नमागिएकाहरुलाई त सरकारले पहल गर्यो भने त सजिलै छुट्छरे मेरो श्रीमान्लाई पनि छुटाई दिनु प¥र्यो” उनको आग्रह छ ।
“मेरो श्रीमान्को कुनै गलत्तीबीना नै तीनलाख रियाल ब्लडमनि माग गरेर साउदीको जेलमा राखिएको छ । सडक किनारमापार्किंग गरेको डोजरमाआफै ठोकिएर मान्छे मरे छ, त्यस्तोमा सजायहुँदा नेपाल सरकारले साउदी सरकारसंग बोलिदिनु पर्यो नि” तनहुका धनबहादुर थापाका श्रीमती युकुमारीले पत्रकार सम्मेलनमा माग गरिन् । उनका श्रीमानले सडकको किनारमा पाकिङ गरेर राखेको डोजरमा राती एक साउदीको कार दुर्घटना हुँदा एक बालकको मृत्यु भएको थियो ।
आफ्नो भाइ सवारी दुर्घटनामा आफै घाइते भएर मर्ने अवस्थामा जेल परेको घटना सुनाउदै धनुषाका संजयकुमार यादवले आफू साउदीमा रहेका बेला मैथली समाज, एनआरएनए र राजदुतावासमा खुबै धाएको तर केही नभएको पीडा छ । उनी नेपालमा आएपछि पनि धेरैपटक मन्त्रालय, विभाग, नेता, मन्त्रीमापुगे तर पनि केही नभएको गुनासो छ । उनी भन्छन् वैदेशिक रोजगारमा जाँदा श्रम गरेर, पैसा तिरेर जान्छौ, कोषमा साढे तीनअर्ब रुपैयाँ छ रे, मन्त्री र कर्मचारीले भ्रमण, गोष्ठी, भोज भत्तेरमा चाहिँ करोडौं खर्च गर्छन् । मेरो भाइ जस्ता पीडितहरुका लागि किन उपयोग गरिन्न ?
उनका भाइ संजिवकुमार यादव जेल परेको तीनवर्ष ९ महिना भयो । उनीसँगको सवारी दुर्घटनामा एक भारतीयको मृत्यु भएको थियो । मृतकको तीन सन्तान नाबालक भएकाले परिवारले माफी दिँदा पनि साउदी अदालतले नाबालकको पक्ष लिएर ९७ हजार २ सय ५० रियाल बुझाउनु पर्ने निर्णय सुनाउदै जेलमा राखेको छ ।
झापाका मदन पंधाक लिम्बूले लोड गरेरको ट्रक घुमाउना लाग्दा पछाडिबाट आएको टाटा पिकअप दुर्घटना हुँदा एक यमनीको मृत्यु भएको थियो । सोही घटनाका कारण प्रहरीले हिरासतमा राखेको उनलाई जेलमा ल्याएर राखियो तर के के कति ब्लडमनि तिर्नुपर्ने हो होइन केही थाहा छैन् । उनका दाजु मणि लिम्बू भन्छन् “भाइका अनुसार प्रहरीले एक पटक दशहजार रियालतिर भने छ तर उसले आफूसँग छैन भनेर फर्काए छ, त्योे भन्दा अरु केही थाहा छैन । ऊ जेल परेको एक वर्ष ९ महिनाभयो । एक वर्ष अघि उसले दुतावासमा फोन गरेरको रे, आउछु भन्थे रे तर आजसम्म कोही आएकै छैन भन्थ्यो ।”