१८ बैशाख २०८१, मंगलवार
Follow Us

कांग्रेसमा चरम असन्तुष्टि छताछुल्ल

नेपालब्रिटेन डट कम्
२७ पुष २०७४, बिहीबार ०९:१४

काठमाडौं । निर्वाचनमा पराजय भएपछि नेपाली कांग्रेसको केन्द्रदेखि स्थानीय तहसम्म चरम असन्तुष्टि बढ्दै गएको छ । पराजयको समीक्षा गर्न बैठकको माग गर्दै आएका नेता तथा कार्यकर्ताको आवाजलाई नेतृत्वले बेवास्ता गरेको छ । जसले गर्दा स्थानीय नेतृत्वदेखि गुट–उपगुटको कोठे बैठकमा नेतृत्वको कडा आलोचना हुन थालेको छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन सम्पन्न भएको एक महिना बितिसक्दा पनि नेपाली कांग्रेसले चुनावी समीक्षा गर्न सकेको छैन ।

स्थानीय तहदेखि केन्द्रीय नेताहरुलेसमेत चाँडो समीक्षा बैठक बोलाउन माग गरेपनि नेतृत्वले टेरपुच्छर नलगाउँदा पार्टीभित्र नेतृत्वप्रति चर्को आलोचना हुन थालेको छ । नेतृत्वले पार्टीको पराजयको समीक्षामा आलटाल र ढाकछोप गर्न थालेपछि स्थानीयस्तरका नेताहरुसमेत आफैं समीक्षामा जुट्न थालेका छन् । देशभरका पार्टी जिल्ला सभापतिहरुले पनि पार्टी पराजयको चित्तबुझ्दो जवाफ दिन नेतृत्वलाई गरेको आग्रहलाई पनि नेतृत्वले लत्याएको छ । जसले गर्दा उनीहरुले पनि राजधानीमै भेला गरेर नेतृत्वलाई चाँडो बैठक डाक्न दबाब दिइरहेका छन् ।

केन्द्रीय सदस्यहरुले पनि महासमितिको बैठक डाक्न नेतृवको ध्यानाकर्षण गराउन छाडेका छैनन् । उनीहरुले पार्टी पराजयको वैचारिक बहसबाट निकास नखोजी पार्टी नेतृत्व भाग्न खोजेको आरोप लगाएका छन् । नेतृत्वको अदूरदर्शी रणनीति, गुटगत टिकट वितरण र स्थानीय नेतृत्वको अधिकार कटौती गरी केन्द्रीय नेतृत्व शक्तिशाली बन्दा परिणाम यस्तो आएको उनीहरुको निचोड छ । पार्टी पराजयको जिम्मेवारी नेतृत्वले लिनुपर्ने भन्दै समीक्षा गर्न माग गर्दासमेत नेतृत्व मौन बसेकोमा उनीहरुको आपत्ति छ ।