१ भाद्र २०८२, आईतवार
Follow Us

रौतहटमा मेला उद्घाटन गर्ने विषयमा दोहोरो झडप हुँदा नगरप्रमुखसहित ५ जना घाइते

नेपालब्रिटेन संवाददाता
१ भाद्र २०८२, आईतवार ०३:४६

रौतहट । रौतहटको देवाहीगोनाही नगरपालिकामा मेला उद्घाटन गर्ने विषयलाई लिएर दोहोरो झडप हुँदा नगरप्रमुख प्रेमलाल साह कानुसहित ५ जना घाइते भएका छन् ।

शनिबार दिउँसो देवाहीगोनाही–९ धरहरीटोलस्थित कृष्ण मन्दिरमा लाग्ने श्रीकृष्ण जन्माष्टमी मेलाको उद्घाटनको विषयलाई लिएर दुई पक्षबीच झडप हुँदा नगरप्रमुख कानुसहित ५ जना घाइते भएका हुन् ।

झडपमा नगरप्रमुख कानु, देवाहीगोनाही–९ का रामविकाश साह, सोहीटोलका श्यामविनय साह, इलाका प्रहरी कार्यालय देवाहीगुनाहीमा कार्यरत प्रहरी वरिष्ठ हबलदारद्धय जगदीशराय यादव र धनसुन्दर ठाकुर घाइते भएका इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।

घाइते नगरप्रमुखको टाउकोमा १७ वटा टाँका लगाएको छ । अन्य घाइतेहरूको गरुडास्थित बेटर नेपाल अस्पतालमा उपचार भइरहेको छ । उक्त घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा देवाहीगोनाही–९ का अन्दाजी ३५–४० वर्षीय राधामोहन साह, अन्दाजी ३५–४० वर्षीय विनोद साह र अन्दाजी २१–२२ वर्षीय रीतिक साह रहेका छन् ।

नगरप्रमुख कानु पक्षले उनीबाट रिवन काटी मेलाको उद्घाटन गर्ने भनिरहँदा अर्को पक्षले औपचारिक उद्घाटन नगरी मेला सञ्चालन गर्ने भनेपछि विवाद भएको बताएको छ ।

धेरै पढिएको