१८ बैशाख २०८१, मंगलवार
Follow Us

राष्ट्रियसभा निर्वाचन सुरु, ३ बजेसम्म मतदान गर्न पाइने

नेपालब्रिटेन डट कम्
२४ माघ २०७४, बुधबार ०६:१२

काठमाडौं । राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि बुधबार बिहान १० बजेबाट ६ वटा प्रदेशमा शान्तिपूर्ण र उत्साहजनक रूपमा मतदान सुरु भएको निर्वाचन आयोगले जनाएको छ । प्रदेश नम्बर २ मा भने ८ वटै सदस्य निर्विरोध निर्विचित हुनुभएकाले मतदान नै गर्नु परेन । कुल ५६ सदस्यका लागि हुने मतदानमा २४ जना निर्विरोध निर्वाचित भइसक्नु भएकाले अब ३२ सदस्यका लागि ५२ जना उम्मेदवार निर्वाचनको प्रतिस्पर्धामा रहनु भएको छ ।
छ वटा प्रदेशमा स्थापना गरिएका निर्वाचन अधिकृतको कार्यालयबाट प्राप्त विवरण अनुसार, प्रदेश नम्बर १ को मोरङ जिल्लाका विराटनगरस्थित वीरेन्द्रसभा गृहमा, प्रदेश नम्बर ३ को ललितपुर जिल्लाको जावलाखेलस्थित चिडियाखाना नजिक ललितपुर महानगरपालिका वडा ४ को कार्यालयमा र प्रदेश नम्बर ४ को कास्की जिल्लाको पोखरास्थित लोकसेवा आयोगको पश्चिाञ्चल क्षेत्रीय निर्देशनालय भवन केन्द्रमा मतदान सुरु भएको छ । यसैगरी, प्रदेश नम्बर ५ को दाङ जिल्लाको घोराहीस्थित कर्मचारी मिलन केन्द्र रहेको भवन, प्रदेश नम्बर ६ को सुर्खेत जिल्लाको वीरेन्द्रनगरपालिकास्थित जिल्ला निर्वाचन कार्यालय भवन परिसर र प्रदेश नम्बर ७ मा डोटी जिल्लाको दिपायल सिलगढी नगरपालिका वडा नं. ६ मा रहेको पदम पब्लिक मुक्तिनारायण मावि भवन मतदान केन्द्रमा मतदान सुरु भएको छ ।
प्रत्येक प्रदेशबाट निर्वाचित हुने आठ जनामा महिला तीन, दलित एक, अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक समुदायबाट एक र अन्य तीनजना निर्वाचित हुने छन् । महिला तीन र अन्य तीन सदस्यका लागि एकल सङ्क्रमणीय मत प्रणालीअनुसार मतदान हुने छ भने दलित एक, अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक समुदायबाट एक गरी दुई सदस्यका लागि भने राष्ट्रिय सभा सदस्य निर्वाचन अध्यादेश अनुसार सबैभन्दा बढी मत प्राप्त गर्ने उम्मेदवार निर्वाचित हुने छन् ।
प्रत्येक प्रदेशमा गठन भएको निर्वाचक मण्डलमा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, नगरपालिकाका प्रमुख, उपप्रमुख र प्रदेश सभाका सदस्यहरू गरी कुल २,०५६ मतदाता रहनुभएको छ । प्रदेश नम्बर २ का ८ वटै सदस्यहरू निर्विरोध निर्वाचित हुनु भएकाले अब बाँकी ६ प्रदेशका स्थानीय तहका १,२३४ र प्रदेश सभाका ४४३ गरी कुल १,६७७ जना मतदाताले आफ्नो मताधिकार प्रयोग गर्ने छन् । मतदान कार्य आज दिउँसो ३ बजेसम्म हुने निर्वाचन आयोगले जनाएको छ ।