२३ बैशाख २०८१, आईतवार
Follow Us

मनोज पुनको डबल नागरिकता र डबल पासपोर्ट

sarusaru
११ फाल्गुन २०७४, शुक्रबार ०३:५१

काठमाडौँ — शृंखलाबद्ध व्यक्ति हत्या घटनाका मुख्य नाइके मनोज पुनको नागरिकता र पासपोर्ट दुई/दुईवटा रहेको भेटिएको छ । बुधबार रुपन्देहीको भवानीपुरमा प्रहरीसँगको दोहोरो भिडन्तमा मारिएका पुनको साथबाट प्रहरीले सुनीलकुमार रानाका नाममा जारी भएको राहदानी फेला पारेको थियो ।

नाम फरक भए पनि उक्त राहदानीमा मनोजकै तस्बिर देखिएपछि प्रहरीले उनले फरक नाममा नागरिकता निकालेर त्यसैका आधारमा मेसिन रिडेबल पासपोर्ट (एमआरपी) बनाएको निष्कर्षमा पुगेको हो ।

नवलपरासीबाट जारी भएको ८५८६४ नम्बरको नागरिकताका आधारमा मनोजले पासपोर्ट निकालेको देखिन्छ । प्रहरीले फेला पारेको ०५२१७४८८ नम्बरको पासपोर्ट ५ अक्टोबर २०१५ मा जारी गरिएको देखिन्छ । अनुसन्धानमा संग्लन प्रहरीका अनुसार मनोजले आफ्नो परिचय बदल्न दोहोरो नागरिकता र पासपोर्ट निकालेको हुन सक्छ ।

मनोजका साथबाट भेटिएको फरक नामको पासपोर्टपछि उनले कसरी फरक नाममा फरक जिल्लाबाट नागरिकता निकाल्न सफल भए भन्नेबारे अनुसन्धान सुरु गरिएको छ । स्रोतका अनुसार नक्कली अभिभावक खडा गरेर पुनले नवलपरासीबाट नागरिकता लिएको र त्यसैका आधारमा पासपोर्ट बनाएको देखिन्छ ।

पुनको साथमा भेटिएको पासपोर्टबाट उनले कुनै देशको यात्रा गरेको देखिँदैन । तर फरक नाममा निकालेको नागरिकता र पासपोर्टकै आधारमा उनले आफ्नो अपराध कर्मलाई लुकाइरहेको हुन सक्ने प्रहरीको अनुमान छ । पुनको साथबाट राना सराङकोटीका नाममा रहेको प्रभु बैंकको एटीएम कार्डसमेत फेला पारेको छ । उक्त एटीएम कार्ड उनको आफ्नै थियो कि अरू कसैका नाममा निकालिएको कार्ड उनले चलाएका थिए भन्ने चाहिँ खुलेको छैन । उक्त नामको खाताको विस्तृत कारोबार विवरण हेरेपछि खाताको वास्तविक व्यक्ति को हो भन्ने पत्तो लाग्नेछ ।

पुनले भारतमा रहँदा नक्कली परिचयका आधारमा आधार कार्डसमेत निकालेको सूचना प्रहरीले पाएको छ । रुपन्देहीका युवा संघ अध्यक्ष दुर्गा तिवारीको हत्यापछि भारत पसेका पुनले उतैबाट नेपालका व्यवसायीलाई धम्काउँदै रकम असुल्ने गरेका थिए । पछिल्ला दिनमा भने पुनले बैंकक र मलेसियाबाट समेत फोन गरेर व्यसायीलाई धम्काएको सूचना प्रहरीकहाँ पुगेको थियो । त्यसैआधारमा प्रहरीले उनले नक्कली परिचयका आधारमा अन्तर्राष्ट्रिय यात्रासमेत गरेको हुन सक्ने अडकल काटेको थियो ।

पुनको साथबाट ल्यापटप पनि बरामद भएको छ । तर त्यसभित्र के कस्ता विवरण छन् भन्नेबारे भने प्रहरी प्रधान कार्यालयको डिजिटल फरेन्सिक ल्याबमा परीक्षण गरेपछि मात्र थाहा हुनेछ । उक्त ल्यापटप इन्टरनेट कल गर्न प्रयोग गरेको हुन सक्ने अनुमान छ ।

भारतीय मोटरसाइकलमा नेपाली नम्बर प्लेट
व्यक्ति हत्याका पछिल्ला ठूला घटनामा अपराधीले भारतीय नम्बरको मोटरसाइकलमा नक्कली नेपाली नम्बर प्लेट राखेर प्रहरीलाई झुक्याउने प्रवृत्ति दोहोरिएको छ । २३ असोजमा काठमाडांैको शान्तिनगरमा निर्माण व्यवसायी शरदकुमार गौचनको हत्यामा पनि नेपाली नम्बर प्लेट राखिएको भारतीय मोटरसाइकलको प्रयोग भएको थियो ।

हत्याको घटनालगत्तै मोटरसाइकल चढेर भागेका सुटरले कालो रङको साइन मोटरसाइल सिनामंगलमा मिल्काएका थिए । प्रहरीले मोटरसाइकल धनी खोज्दै जाँदा रक्सौलबाट किनेर काठमाडौं ल्याइएको र बा३५प २४६१ नम्बरको नक्कली प्लेट राखिएको खुलेको थियो । भारतबाट शिवजी महतोले चोरेर ल्याएको उक्त मोटरसाइकल गौचन हत्याका अभियुक्त श्याम गुम्बेले १८ हजार रुपैयाँमा किनेको खुलेको थियो ।

बुधबारको घटनामा पनि पुन र उनका निकट सहयोगी सोम आले लु१३प ३३७६ नम्बरको मोटरसाइकलमा सवार भएका बेला प्रहरीसँग दोहोरो भिडन्त भएको हो । प्रहरीका अनुसार सीमावर्ती भारतको उत्तर प्रदेशको नम्बर प्लेटमाथि नेपाली नम्बर प्लेट हालेर उक्त मोटरसाइल प्रयोगमा ल्याइएको थियो । रूपन्देहीका एसएसपी श्याम ज्ञवालीले उक्त मोटरसाइकल भारतबाट चोरी गरेर नेपाल भित्र्याइएको हुन सक्ने बताए ।
– कान्तिपुर दैनिकबाट ।