२७ बैशाख २०८१, बिहीबार
Follow Us

बेहुली लिन गएका बेहुला रित्तै फर्किए

sarusaru
१६ फाल्गुन २०७४, बुधबार ०४:२२

महोत्तरी । मिथिलामा समान्यतया विवाहपछि बेहुली बेहुलाको घरमा जाने चलन छ। तर महोत्तरीको जलेश्वर नगरपलिका –१२ नैन्हीमा बिहे गर्न गएका बेहुला बेहुली नलिर्इ घर फर्कनुपरेपछि यतिवेला यो घटना जिल्लामा चर्चाको विषय बनेको छ।

महोत्तरीको लोहरपट्टी नगरपालिका-८ भ्रमरपुरा बस्ने किशोरी यादवका छोरा दिपेशकुमार यादवको महोत्तरीकै नैन्ही बस्ने कमलेशकुमार यादवको छोरी बबिता यादवसँग दुई महिनाअघि नै विवाहको छिनोफानो भयो। बबिताका बुबाको निधन भइसकेकाले आमा र उनका दाई मिन्टु यादवले दुई महिनाअगाडि नै बेहुलाका घरमै गएर विवाहको छिनोफानो गरेका थिए।

विवाहका लागि बेहुला पक्षले केही प्रस्ताव गरेनन्। आफूखुसी सरसमान दिन दुवै पक्ष सहमत भयो र ११ फागनुमा लगन हेरियो। ११ फागुनको राति ९ बजे बेहुला पक्ष जन्तिसहित बेहुलीको घरमा पुग्यो । बेहुली पक्षले आफ्नो हैसियत अनुसार जन्तिलाई स्वागत सत्कारमा कमी गरेन। सार्वजनिक रुपमै बेहुला बेहुलीको स्वयम्वर भयो।

सोही राति हिन्दूसंस्कारअनुसार विवाह सम्पन्न भयो। मिथिलामा विवाह सम्पन्न भएकै राति केटीपक्षका महिलाले बेहुलालाई विभिन्न प्रश्न सोधेर हाँस-परिहाँस गर्दै रमाइलो गर्ने चलन छ।

त्यही रमाइलो गर्ने क्रममा स्थानीय महिलारूले बेहुलासँग दुई वटा प्रश्न गरे । तर बेहुलाले उनीहरुको प्रश्नको जवाफ दिन सकेनन् वा जवाफ दिन उचित ठानेनन्। त्यही विषयलाई लिएर बेहुली पक्षले बेहुला मानसिक रूपमा ठीक नरहेको भन्दै बेहुली लैजान नदिने बताएपछि आरोप–प्रत्यारोप सुरू भयो।

सोही क्रममा स्थानीयले जन्तिहरूलाई कुटपिटसमेत गरेको लोहरपट्टी नगरपालिका बगरा गाउँका जयशंकर यादवले बताए। यता, बेहुला पक्षले आज बेहुली पक्षविरुद्ध जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय धनुषामा निवेदन दर्ता गराएको छ । बहुली पक्षले आफ्नो सामाजिक प्रतिस्ठामा आँच पुर्याएको तथा ठगी गरेको निवेदनमा उल्लेख गरेको छ।

बेहुला दिपेश यादवले भने, ‘लाखौँ खर्च भयो, केही पैसा साहुमहाजनसँग ऋण पनि लिएको छु। तर, बेहुली पक्षबाट गलत आरोप लगाएर हाम्रो सामाजिक प्रतिष्ठा हनन गर्ने काम भयो।’ उनले आफू शारीरिक तथा मानसिक रूमा पूर्णस्वस्थ रहेको भन्दै अनाहकमा आरोप लगाएर अपमान गरेको बताए।

विवाह हुनुभन्दा अघि नै बेहुलीकी आमा, नातेदारलगायतले आफूसँग पटक–पटक कुराकानी गरेको भन्दै उनले भने, ‘यस्तो घटनामा केटीपक्ष पीडित भएको भए आज विभिन्न अधिकारवादी संघसंस्थाले आवाज उठाउँथे। तर मेरो सन्दर्भमा सबै किन चुप छन् ?’ यसैबीच जिल्ला प्रहरी कार्यालय महोत्तरीले छलफलका लागि दुवैपक्षलाई २० गते बोलाएको छ।
– नयाँ पत्रिकाबाट ।