१८ बैशाख २०८१, मंगलवार
Follow Us

प्रधानमन्त्रीज्यू घोषणापत्रमा लेखेको कुरा पूरा गर्नुपर्छ : गगन थापा

नेपालब्रिटेन संवाददाता
२७ फाल्गुन २०७४, आईतवार १४:०२

काठमाडौं । काँग्रेसका सांसद गगन थापाले मुलुक समृद्धिका लागि व्यक्ति नभई सरकारका संरचना बलियो हुनुपर्ने बताउँदै सरकारका कमी कमजोरीप्रति खबरदारी गर्न काँग्रेसले प्रतिपक्षमा बस्ने निर्णय गरेको बताए । उनले वाम गठबन्धनले निर्वाचनका बेला जनतामाझ गरेका प्रतिबद्धता पूरा गर्न अब केहीले रोक्न नसक्ने भन्दै त्यसलाई कार्यान्वयन गराउन पनि काँग्रेसले प्रतिपक्षीका हैसियतमा घच्घच्याइरहने छ भने ।
संसदको बैठकलाई सम्बोधन गर्दै सांसद थापाले केन्द्र र प्रदेशमा स्थायी सरकार बनेको बताए । उनले भने, ‘हामी प्रतिपक्षमा उभिएपनि हामी प्रष्ट छौं, दुई तिहाई हाराहारी मत प्राप्त गरेर विश्वासको मत प्राप्त गर्नु हुनेछ ।’

थापाले अघि भने, ‘घोषणा पत्रमा लेख्नु भएको छ, ५ वर्षमा प्रत्येक वर्ष आर्थिक बृद्धिद्धर १० प्रतिशत हुनेछ । भ्रष्टाचार शुन्य हुन्छ । २ वर्षभित्र एउटा पनि कृषिउपज किन्नु पर्दैन, ५ वर्षमा बेचेर खनखन पैसा कमाउँछ । फास्ट ट्राक बन्नेछ, २५ लाख पर्यटक भित्रिनेछन् ।’

एकपछि अर्को चुनावी घोषणा पत्रका बाचा स्मरण गराउँदै कांग्रेस सांसद थापाले भने, ‘तपाईले भन्नुहोला, तैले हाम्रो घोषणा पत्र कन्ठ पारेर आइछन् । कन्ठ पार्ने मात्र होइन, कन्ठस्थ पारेको घोषणापत्रलाई पटक पटक संसदमा दोहोर्‍याइनेछ । अब किन्तु परन्तु केही चल्दैन । नो इफ, नो बट अब परीणाम चाहिन्छ, त्यो पनि उधारो होइन, नगदमा ।’

राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य महेन्द्रराय यादवले मुलुकको राष्ट्रिय एकता बलियो बनाउन र जनअपेक्षाअनुसारको आर्थिक समृद्धिका लागि वर्तमान सरकारलाई आफ्नो पार्टीको विश्वासको मत रहेको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा प्रधानमन्त्रीले विश्वासको मत लिनेसम्बन्धी प्रस्तावमाथिको छलफलमा भाग लिँदै उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टीले उठाएका माग सम्बोधन गर्न सार्वजनिक प्रतिबद्धता जनाउनुपर्ने आग्रह गर्नुभयो ।

विगतमा राजपा नेपालले उठाएको संविधान संशोधनको माग पूरा हुन नसकेको बताउँदै नेपालीलाई संविधानप्रति अपनत्व खोज्नका लागि अहिलेको सरकार दुई तिहाइ बहुमत भएकाले माग पूरा हुने अपेक्षा गर्नुभयो । संघीय समाजवादी फोरम नेपालका सांसद सरिता गिरीले संविधान संशोधनमार्फत समानुपातिक समावेशीको व्यवस्था पूर्ण कार्यान्वयनको माग गर्दै सरकारलाई आफ्नो पार्टीको विश्वासको मत व्यक्त गर्नुभयो । राजनीतिक स्थिरतापछि जनताले सुशासन र समृद्धि चाहेको बताउँदै उहाँले यसका लागि समाजवाद उन्मुख राजनीति र अर्थ व्यवस्थालाई व्यवहारमा कार्यान्वयन गर्न सकेमात्र आर्थिक विकास र समृद्धि सम्भव छ भन्नुभयो ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद राजेन्द्र लिङ्देनले वर्तमान सरकारलाई आफ्नो पार्टीको विश्वासको मत रहेको उल्लेख गर्दै भ्रष्टाचार नियन्त्रणका लागि प्रधानमन्त्री ओलीले गर्नुभएको प्रतिबद्धताको प्रशंसा गर्नुभयो । सांसद लिङ्देनले दृढ इच्छाशक्ति भए देश बनाउन कुनै पनि बहुमत र अल्पमतले रोक्न नसक्ने बताउँदै प्रधानमन्त्री ओलीलाई विगतका प्रतिबद्धता पूरा गर्न आग्रह गर्नुभयो ।