२१ असार २०८१, बिहीबार
Follow Us

अनुरागको फ्लाइट छुटेपछि खुमबहादुरको शब १ बजेसम्म निवासमै

नेपालब्रिटेन संवाददाता
१८ चैत्र २०७४, आईतवार ०५:००

काठमाडौं । काँग्रेस नेता खुमबहादुर खड्काको श्रद्धाञ्जली कार्यक्रम हेरफेर भएको छ । उहाँको पार्थिव शरीर दिउँसो १ बजेसम्म निजी निवास सानेपामै राखिने भएको छ । १ बजेपछि मात्रै पार्टी केन्द्रीय कार्यालय लगिने पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनु भएको छ ।

यसअघि ९ बजेसम्म सानेपा घरमा राखेर त्यसपछि पार्टी कार्यालय लैजाने कार्यक्रम राखिएको थियो । खड्काका छोरा अनुराग बेलायतबाट आउँदा भारतबाट फ्लाइट छुटेपछि आउन ढिलाई हुने भएकाले अन्तिम श्रद्धाञ्जलीको कार्यक्रम फेरबदल गरिएको हो । गएको शुक्रबार उपचारका क्रममा नयाँ दिल्लीस्थित अपोलो अस्पतालमा निधन भएका खड्काको पार्थिव शरीर हिजो राती काठमाडौंमा ल्याईएको थियो । खड्काको आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने परिवारका सदस्यले बताएका छन् ।

यसैबीच, कांग्रेस नेता खुमबहादुर खड्काको निधनको शोकमा कांग्रेसको जारी केन्द्रीय समितिको बैठक स्थगित गरिएको छ ।
निर्वाचन समीक्षा गर्न भनेर यही चैत ९ गतेबाट कांग्रेस केन्द्रीय समिति बैठक शुरु भएको थियो । आज बिहान ११ बजे बस्ने बैठकमा खड्काको निधनमा शोक प्रस्ताव मात्र पारित हुनेछ र अर्को सूचना जारी नभएसम्मका लागि स्थगित हुनेछ ।