लण्डन । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ बेलायत (फोनिज यूके) र पाँचथर समाज सेवा यूकेले सगरमाथा आरोहणका लागि पर्वतारोही पत्रकार देउराली चाम्लिङलाई छुट्टाछ्ट्टै रुपमा आर्थिक सहयोग जुटाई नेपाल पठाएका छन् ।
पाँचथर समाज सेवा यूकेकी उपाध्यक्ष तथा बिदेश बिभाग प्रमुख श्रीमती शान्ती लिम्बुको अगुवाइमा समाजले गत हप्ता ४५ हजार पाउण्ड नेपाल पठाएको हो । त्यस्तैगरी फोनिज यूकेले पनि सुश्री चाम्लिङलाई यसै हप्ता ३८ हजार रुपैयाँ पठाएको फोनिज यूके कोषाध्यक्ष श्रीमती गोमा रानाले जानकारी दिइन् । गत आइतबार १ अप्रिलको दिन काठमाण्डौंस्थित फोनिज केन्द्र कार्यालयमा केन्द्रका सल्लाहकार गणेश राईले फोनिज यूकेको तर्फबाट उक्त रकम हस्तान्तरण गरे ।
पाँचथर जिल्लाको यासोक, खाल्टेमा जन्मिएकी चाम्लिङ हाल मैत्री एफएमकी नियमित प्रस्तोता हुन् । उनी धरानबाट प्रकाशित हुने ब्लास्ट दैनिकको सम्वाददाताको रुपमा सन् २००४ मा ब्यवसायिक पत्रकारितामा प्रबेश गरेकी हुन् । चाम्लिङ आगामी अप्रिल १६ मा आफ्ना अन्य ४ जना महिला पत्रकार मित्रहरुका साथ विश्वको सर्बोच्च शिखर सगरमाथा आरोहणका लागि त्यसतर्फ प्रस्थान गर्दैैछिन् । यसअघि उनले आफ्नो समुहसित अन्य कम अग्ला हिमालहरु सफलतापूर्वक आरोहण गरिसेकेकी छिन्।
पत्रकार चाम्लिङलाई सोही उद्देश्यका लागि यसअघि गत फेब्रुवरी महिनामा नेपाल आदिवासी जनजाति महिला महासंघले पनि सहयोग राशी जुटाई नेपाल पठाएको थियो । सगरमाथा आरोहणका लागि प्रति आरोही कम्तिमा ४५ लाख रुपैयाँ जम्मा गर्नुपर्ने भएकोले चाम्लिङले बिभिन्न ब्यक्ति र संस्थाहरुमा दौडधुप गर्ने कार्यलाई जारी राखेकी छिन् । उनलाई मा सम्पर्क गर्न सकिन्छ ।
यसैबीच फोनिज यूके अध्यक्ष श्रीमती प्रमिला लाबुङ राई र पाँचथर समाज यूके अध्यक्ष चन्द्र बहादुर सुन्दासले सुश्री देउराली चाम्लिङको सगरमाथा आरोहणका लागि आआफ्नो तर्फबाट आर्थिक सहयोग गर्ने सबै दाताहरुलाई छुट्टाछ्ट्टै रुपमा धन्यवाद ज्ञापन गरेका छन् ।
-शान्ती लिम्बु