२७ बैशाख २०८१, बिहीबार
Follow Us

आज पार्टी एकताको घोषणा हुने, दिउँसो पत्रकार सम्मेलन

नेपालब्रिटेन संवाददाता
३ जेष्ठ २०७५, बिहीबार ०४:२५

काठमाडौं । आज मदन भण्डारी र जीवराज आश्रित स्मृति दिवस हो । एमालेका तत्कालीन महासचिव भण्डारी र जीवराज आश्रितको जेठ ३ गते दासढुंगामा भएको सवारी दुर्घटनामा निधन भएको थियो । मदन आश्रित स्मृति दिवसको अवसरमा एमालेले गर्ने कार्यक्रममा माओवादी शीर्ष नेताहरु पनि सहभागी हुनेछन् । लगतै पार्टी एकता संयोजन समितिको बैठक बस्नेछ ।

अपराह्न पत्रकार सम्मेलन गरेर पार्टी एकताको घोषणा हुने दुबै दलका नेताहरुले बताएका छन् । नेकपा मसालका महामन्त्री मोहन विक्रम सिंहले एमाले–माओवादी पार्टीको एकता समयको आवश्यकता भएको बताउनुभएको छ ।

नेकपा एमाले र माओवादी केन्द्रबीचको एकतापछि बन्ने नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय समिति ४४१ सदस्यीय हुने भएको छ । जसमा एमालेको तर्फबाट २४१ र माओवादीबाट २०० जना हुनेछन् । कार्यदलले २९९ प्रस्ताव गरेको थियो । माओवादीले ५०–५० को माग गरेपछि विवाद पनि भयो तर, नयाँ सहमतिअनुसार केन्द्रीय कमिटीमा माओवादीले ४५ प्रतिशत पाएको छ ।

पोलिटब्यूरो तत्काल नबन्ने भएको छ । स्थायी कमिटी ४३ सदस्यीय बनाउने सहमति जुटेको छ । नेताहरुका अनुसार एमालेबाट २५ जना हुनेछन् भने माओवादीबाट १८ जना रहनेछन ।