२३ बैशाख २०८१, आईतवार
Follow Us

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्तरोन्नतिमा लापरबाही

sarusaru
२५ असार २०७५, सोमबार ०३:५१

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्तरोन्ततिमा सरकारी निकायदेखि ठेकेदार कम्पनीको लापरबाही देखिएको छ। विमानस्थलमा स्तरोन्नतिको काम गरिरहेको स्पेनिस निर्माण कम्पनी सान्जोसेसँग ठेक्का सम्झौता रद्द भएको झन्डै दुई वर्ष हुनैलाग्दा कुनै काम अगाडि बढने सकेको छैन।

तर, विमानस्थल स्तरोन्नतिका काम अगाडि नबढाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले २१ घण्टा विमानस्थल सञ्चालन सुरु गरेका छन्।

विमानस्थल स्तरोन्नतिको काम गरिरहेको निर्माण कम्पनी सान्जोसेसँग नेपाल नागरिक उड्डयन प्राधिकरणले २०७३ मंसिर २४ मा ठेक्का रद्द गरेपनि अहिलेसम्म स्तरोन्नतिको काम अगाडि बढेको छैन।

प्राधिकरणले लगानी कर्ता र मन्त्रालयको सहकार्यमा स्पेनिस निर्माण कम्पनीले तोकिएको समयमा १७ प्रतिशत पनि काम सम्पन्न गर्न नसकेको भन्दै ठेक्का रद्द गरेको थियो।

ठेक्का रद्द गर्दै प्राधिकरणले विमानस्थल स्तरोन्नतिको सबै काम एउटा तह र कम्पनीले गर्न नसक्ने ठहर गर्दै कामको वर्गीकरण गर्ने निर्णय गरेको थियो।

कामको वर्गीकरण गरेपनि नेपाल नागरिक उड्डयन प्राधिकरणले अहिलेसम्म सबैभन्दा ग्राहो र खर्च बढी लाग्ने कामको बोलपत्र आह्वान गर्न सकेको छैन। विमानस्थल स्तरोन्नतिमा सबैभन्दा गाह्रो काम अन्तर्गत एप्रोन र ट्याक्सी वे निर्माण हो। प्राधिकरणले यो कामलाई एनसीबी ४ अन्तर्गत राखेको छ।

विमानस्थल स्तरोन्नति आयोजनाले एनसीबी ४ अन्तर्गतको कामका लागि आवश्यक माटो कसरी व्यवस्थापन गर्ने भने विषयमा अध्ययन सम्पन्न गरिसकेको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सन्जीव गौतमले बताए।

पहिलो पनि सान्जोसेले माटोको समस्या देखाउँदै काममा लापरबाही गरेको थियो। फेरि, निर्माण कम्पनी छनोट पछि माटोको समस्या देखाएर काममा लापरबाही हुने अवस्था आउने नदिने गरी काम भइरहेको उनको भनाइ छ।

‘विमानस्थल स्तरोन्नतिको काममा केही ढिलाइ भएको हो’, प्राधिकरण महानिर्देशक गौतमले भने, ‘सबै प्रक्रिया पुरा गरेर अब सेप्टेम्बर भित्र स्तरोन्नतिका लागि ग्लोबल टेन्डर हुन्छ।’ एनसीबी ४अन्तर्गतको कामका लागि टेन्डर नभएपनि अन्य तीन तहका कामलागि भने लागि भने टेन्डर भएर कम्पनी समेत छनोट भएको गौतम बताउँछन्।

एनसीबी २ अन्तर्गत रहेको इन्टरनेसनल टर्मिनल भवन विस्तारको काम सन् २०१९ अगस्ट भित्र सम्पन्न हुने गौतमको दाबी छ। एनसीबी २ नम्बरको काम नेपाली निर्माण कम्पनी शर्मा प्रेरा आशिष जोयन्ट भेन्चरले गरिरहेको छ। यो कामको कुल लागत भने ७७ करोड रुपैयाँमा रहेको छ।

यसैगरी एनसीबी ३ अन्तर्गतको काम पनि सन् २०१९का मे भित्र सम्पन्न हुने प्राधिकरणको भनाइ छ। एनसीबी ३ अन्तर्गत वाटर स्पलाई, फोहोर व्यवस्थापन, जेनेरेटर हाउस, पावर हाउसलगायत काम रहेको छ। यो काममा लागि प्राधिकरणले लगभग १.८ मिलियन अमेरिकी डलर खर्च गर्दैछ।

एनसीबी २र ३ अन्तर्गतको काम भइरहे पनि एनसीबी १ का लागि टेन्डर मार्फत छनोट भएको चिनियाँ सांघाई कन्स्ट्रक्सन कम्पनी सम्पर्कमै नआएको उनको भनाइ छ।

सम्पर्कमा नआएको चिनियाँ कम्पनीको सम्झौता रद्द गरि पुनः प्राविधिक रुपमा सक्ष्म भएका कम्पनीसँग आर्थिक प्रतिस्पर्धा गरेर कम्पनी छनोट गरिने तयारी भएको गौतमले बताए। एनसीबी १ अन्तर्गतको काममा लागि पनि सेप्टेम्बर भित्रै आर्थिक प्रतिस्पर्धा हुने गौतमले बताए। एनसीबी १ अन्तर्गत तीन सय मिटर धावनमार्ग निर्माणको काम रहेको छ।

प्राधिकरणले चिनियाँ कम्पनीलाई ५६ करोड १८ लाख ७६ हजार रुपैयाँमा काम सम्पन्न गर्नेगरी ठेक्का सम्झौता गरेको थियो। सम्झौता भएदेखि एकपटक पनि कम्पनी सम्पर्कमा आएको छैन। प्राधिकरणले सम्पर्कमा नआएको कम्पनीको ठेक्का रद्द गर्दै धरौटी रकम जफत गरेको गौतम बताउँछन्।

टालटुलकै भरमा रनवे

नेपाल नागरिक उड्डयन प्राधिकरणले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा ढिलाई भएको कारण देखाउँदै रन वे पनि टालटुल कै भरमा सञ्चालन गर्दै आएको छ। रनवे टालटुल गर्नकै लागि विमानस्थल कार्यालय अन्तर्गतको सिभिल इन्जिनियरिङ महाशाखाले वार्षिक दुई करोड रुपैयाँ भन्दा बढी खर्च गर्दै आएको छ।

‘टालटुल गरेर सञ्चालनमा ल्याइएको रनवेमा जुनसुकै समयमा जहाज ल्यान्ड गर्दा दुर्घटना हुन सक्छ’, महाशाखाका प्रमुख मुरारी भण्डारीले भने, ‘हामीले अति संवेदनशील अवस्थामा विमानस्थल सञ्चालन गरिरहेका छौं।’

टालटुल गरेको ठाउँमा जहाज ल्यान्ड गर्दा त्यसको सन्तुलन बिग्रन सक्छ। ‘रनवे टालेर मात्रै राम्रो हुन अवस्था पनि छैन’, उनले भने, ‘त्यसको स्ट्रक्चर नै ड्यामेज भइसकेको छ।’ रनवेकै कारण जहाज दुर्घटना भएको अवस्थामा नेपालको नकारात्मक प्रचार हुने उनको भनाइ छ।

सन् १९८० मा निर्माण भएको रनवे अहिलेसम्म विस्तार तथा मर्मत हुन सकेको छैन। रनवे सुधार (रिह्याबिलिटेसन) प्रक्रिया सुरु भएको झन्डै दुई वर्ष भइसकेको छ। तर, रनवे सुधारका लागि प्राविधिक रूपमा छनोट भएका कम्पनीबीच प्रतिस्पर्धा हुन सकेको छैन। प्राविधिक रूपमा सक्षम ठहर भएका कम्पनीबीच आर्थिक रूपमा प्रतिस्पर्धा गराउन तयार गरिएको टेन्डर डकुमेन्टको फाइल नेपाल नागरिक उड्डयन प्राधिकरण बोर्डमा रोकिएको छ।

प्राधिकरणले भैरहवा विमानस्थल सञ्चालनमा आएसँगै रन वे मर्मतको काम अगाडि बढाउने तयारी गरेको गौतम बताउँछन्। एउटा मात्रै रन वे भएको अवस्थामा विकल्प विमानस्थल नहुँदा काममा ढिलाइ भएको उनको भनाइ छ।

सन् २०१४ मै स्पेनिस कम्पनी ‘आइसा’ले विमानस्थल रनवे सुधारका लागि डिजाइन तय गरेको थियो। तर सन् २०१५ को भूकम्पपछि विमानस्थलमा देखिएको प्राविधिक समस्यासँगै विमानस्थल कार्यालयले ‘डिजाइन रिभ्यू’का लागि कोरियन योसिन इन्जिनियरिङ कम्पनी छनोट गरेर काम भएको थियो।

परामर्शदाताकै रिपोर्टका आधारमा कार्यालयले रनवे सुधारका लागि ग्लोबल टेन्डर मार्फत ११ वटा कम्पनीले दिएको प्रस्तावमा चार कम्पनीलाई मात्रै प्राविधिक रूपमा सक्षम भनेर छनोट गरेको छ। अब प्राधिकरणले भैरहवा विमानस्थल सञ्चालनमा आएसँगै यी नै कम्पनीहरुबाट आर्थिक रुपमा प्रतिस्पर्धा गराएर काम गर्ने गौतम बताउँछन्।

नयाँ ‘पार्किङ वे’ निर्मामा उस्तै हालत

विमानस्थलमा बढ्दो जहाज पर्किङ समस्या समाधानका लागिभन्दै निर्माण सुरु भएको ‘पार्किङ वे’ निर्माममा पनि ढिला सुस्ती भएको छ। विमानस्थलले आफ्नो स्रोतबाट दुई वर्ष भित्र चार वटा जहाज ‘पार्किङ वे’ निर्माण सम्पन्न गर्ने गरी काम थालेको थियो।

विमानस्थल कार्यालयले २०७५ को असार मसान्तसम्ममा पूर्वतर्फ दुई वटा जहाज ‘पार्किङ वे’ निर्माण सम्पन्न गर्ने गरी काम थालेको थियो। तर, पार्किङ वे निर्माण भइरहेको बेला सोही ठाउँमा थप दुई वटा मझौला जहाज राख्न मिल्ने गरी पार्किङ वे निर्माण गर्ने निर्णय हुँदा निर्माण ढिला भएको विमानस्थल कार्यालय सिभिल इन्जिनियरिङ विभागका उपनिर्देशक मुराहरी भण्डारीले बताए। थप भएको पार्किङ वे निर्माणमा लाग्ने आर्थिक लागत प्रमाणिकरणमा ढिला हूँदा समस्या आएको उनको भनाइ छ। थप लागतको विषयमा नेपाल नागरिक उड्डयन प्राधिकरणको बोर्ड बैठकबाट स्वीकृत भएको छ। पार्किङ वे निर्माणमा आवश्यक माटोको पनि व्यवस्थावन भइसकेकाले आगामी पुस मसान्तसम्ममा ४४ करोड लागतमा पूर्वपट्टि निर्माण भइरहेको पािर्कङ वेको काम सम्पन्न हुने उनको भनाइ छ।

यसैगरी, विमानस्थलको नागगरिक उड्डयन तालिम केन्द्रको भवन रहेको ठाउँमा निर्माण भइरहेको दुईवटा ठूला जहाज पार्किङ वे निर्माणको समय अवधि भने आगमी असार मसान्तसम्म रहेको भन्डारी बताउँछन्। यसको लागत भने करिब ५९ करोड रुपैयाँ छ। जहाज ‘पार्किङ वे’ समस्याकै कारण लामो समयदेखि जहाज आकाशमै होल्ड हुने समस्या बढ्दो छ। विमानस्थलले पार्किङ वे समस्याका कारण नयाँ जहाज कम्पनीलाई दिउँसोको समयमा नयाँ उडान तालिका दिन सकेको छैन।
अन्नपूर्ण पोष्ट