२५ बैशाख २०८१, मंगलवार
Follow Us

हाते कागजको उत्पादन घट्दै

sarusaru
२३ श्रावण २०७५, बुधबार ०३:४७

बागलुङ – नेपाली हाते कागजको जिल्लामा बर्षेनी उत्पादन भने घट्दो भएको छ । कच्चा पदार्थको अभाव र नियमित कामदार लगाउन नसक्दा उत्पादन घटेको पाइएको हो । नजिकमा नपाईने, टाढा पुगेर कच्चा पदार्थको संकलनमा कठिनाई हुने गरेको कामदारले बताए । साथै नियमित खटेर काम गर्ने कामदारकै अभाव भएको गुनासो पनि बढेको छ । बजारमा आधुनिक मेसिनबाट बनेका कागज आएकोले हाते मेसिनले बनाएका कागज सजिलै बिक्रि हुन छाडेको व्यवसायीले बताए । उद्योग बाणिज्य संघले भने हाते कागजमै भविष्य भएको भन्दै केही बर्षअघि जिल्लालाई कागजको जिल्ला घोषणा गरेको थियो । घोषणा गरेपनि बजारीकरणमा भने सहयोग नगरेको ग्रामीण व्यवसायीले गुनासो गरेका छन् । जिल्लाको लेखानी, ताराखोला र तमानमा हाते कागज धेरै उत्पादन हुन्थ्यो । हाते मेसिनबाट उत्पादन हुने कागज बजारमा सजिलै बिक्रि हुन छाडेपछि उत्पादन समेत कम भएको हो । सामान्यतया सरकारी कार्यालयमा लेखापढी गर्न हाते कागज प्रयोगमा ल्याईन्छ । ‘हामीले बनाएको कागज बजारमा सजिलै जान्थ्यो’ तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढाले भने, ‘आधुनिक प्रविधि अभावमा बजार नपाएर धेरैले हात झिके ।’ बजारमा फोटो कपी गर्न मिल्ने, प्रिन्टमा प्रयोग हुने गुणस्तरको नेपाली कागजको माग हुने गरेको र हाते कागज त्यस्ता प्रविधिमा प्रयोग गर्न नसकिने भएकोले बजार खस्केको उनले बताए । परम्परागत विधिबाट बनाएका कागज गुणस्तर भएपनि सबै काममा प्रयोग नभएको ताराखोलाकी मिरा रोकाले बताईन् । ‘हामीले बनाएको कागज फोटोकपीमा सर्दैन, त्यसैले बिकल्प खोज्दैछौं’ रोकाले भनिन्, ‘डायरी बनाएर रंग भरेपछि मात्र सामान बिक्रि भएको छ ।’ उपहार दिन मिल्ने गरी रंगीन सामान बनाएर मात्र बिक्रि गर्न सकिएको उनले बताईन् । गाउँपालिकाको समेत सहयोग पाएर ताराखोलास्थित जुल्फे लोक्ता प्रशोधित तथा हाते कागज समूहले मात्र अहिले व्यवसायिक कागज उत्पादन गरेको छ । कार्यालय प्रयोजनका लागि भने बिक्री नभएको उनले गुनासो गरिन् । विभिन्न दाताको सहयोगमा काठेखोला–८ मा स्थापित ‘लेखानी हाते कागज उद्योग’ अहिले जीर्ण छ । उद्योगमै रोगजारी गरेर जीवन गुजारेका ४ जना कामदार अहिले मजदुरी खोज्न हिडेका छन् । नजिकको जंगलमा लोक्ता नपाएर टाढा खोज्न जानुपरेको, सामुदायिक वनले कर लगाउने र सहयोगी संस्थाले संरक्षणमा चासो नदिंदा उद्योग बन्द भएको लेखानीका दिलबहादुर दर्जीले बताए । कच्चा पदार्थको अभावमा मौषमी रुपमा मात्र उत्पादन गर्न सकिएको उद्योगका म्यानेजर खड्गसिंह घर्ती मगरले बताए । घरेलु तथा साना उद्योग विकास समितिको रणनीतिक योजना र उद्योग बाणिज्य संघको ‘एक गाउँ एक उत्पादन’मा सूचीकृत भएको उद्योग बन्द हुँदा कच्चा पदार्थको खोजी, उद्योग संचालन लगायतमा चासो राख्ने कोही नभएको घर्तीले गुनासो गरे । प्रचार गरेझै उत्पादन र बजारको व्यवस्थापन गर्न नसकेको समेत उनले गुनासो गरे । मौषमी रुपमा बनाएको सामान उनीहरुले मेला र महोत्सवमा पठाउँछन् । अरुबेला बेरोजगार बसेको उनले टिप्पणी गरे । ताराखोला गाउँपालिकाले घरघरमा उद्यमी बनाउने योजना अगाडि सारेको छ । योजनामा कागजलाई पनि प्राथमिकता दिएको अध्यक्ष प्रकाश घर्तीले बताए । ‘कच्चा पदार्थको दिगो व्यवस्थापन गर्ने र निरन्तर चलाउने काममा सहयोग गर्ने नीति छ’ घर्तीले भने, ‘हातमा पैसा आउने अवस्था बनाएर उद्यमी टिकाउने हो ।’ गाउँका अन्य उत्पादनलाई पनि बजारको खोजी गर्न पहल गरेको उनले बताए । संघका अध्यक्ष जयराम भारीले कागजबाटै जिल्ला चिनाउने प्रयास भएको बताए । ‘हामीले उनीहरुको सामान खरिद गरिदिएर सहयोग गर्छौं’ भारीले भने, ‘सम्पर्क त भैरहेको छ, कच्चा पदार्थको जोहो गर्न स्थानीय तहले सहयोग गरिदिनुपर्छ ।’ परम्परागत गुणस्तरको उत्पादन गरेपनि बजारको कागजमा प्रतिष्पर्धा गर्न नसक्दा बिक्रि नभएको उद्यमी बताउँछन् । ‘प्रतिकेजी ५० रुपैयाँमा पाइने लोकतालाई १ सय पर्ने र नपाईने समस्या छ’ रोकाले भनिन्, ‘बजारको सामानमा प्रतिष्पर्धा गर्न सकिंदैन ।’ रंगीन कागज बनाउँदा लाग्ने खर्चबाट नाफा निकाल्दा बिक्रि गर्न कठिन भएको उनले गुनासो गरिन् । लेखानीका व्यवसायीले खर र अन्य झारबाट पनि कागज बनाउने प्रविधि बिकास गर्नुपर्ने माग गरेका छन् । ‘लोक्ता नपाएको मौषममा उद्योग नचलेपछि कामदार समेत पलायन भए’ वडा अध्यक्ष चित्रकला छन्त्यालले भनिन्, ‘कच्चा पदार्थमा प्रयोग गर्न सकिने सबै बस्तुको परीक्षण गरेर उत्पादन थाल्नुपर्छ ।’ प्राविधिक सहयोगको खोजी गरेको उनले बताईन् ।