२० बैशाख २०८१, बिहीबार
Follow Us

अमेरिकामा नेपालीको आफ्नै सामुदायिक बैंक

नेपालब्रिटेन डट कम्
११ भाद्र २०७५, सोमबार २३:०९

होमप्रसाद लम्साल ।

न्युयोर्क – अमेरिकामा बस्ने नेपालीहरुले मिलेर एभरेस्ट फेडरल क्रेडिट युनियन (इएफसियू) स्थापना गरेका छन्। सुरुमा समुदायकेन्द्रित आर्थिक कारोबार गर्ने उद्देश्यले यो बैंक (वित्तीय संस्था) खोलिएको हो।

यसको अध्यक्षमा डिल्लीराज भट्ट, महासचिवमा अञ्जन श्रेष्ठ, कोषाध्यक्षमा विराज रिजाल छन्। त्यसैगरी, सदस्यमा आरसी पोखरेल, विजय पौडेल, राजन कर्माचार्य र जीवन बम छन् । अध्यक्ष भट्टका अनुसार सुरुमा अमेरिकाको न्युयोर्कमा संस्था स्थापना भए पनि पछि नेपालीहरु धेरै रहेको स्टेटमा शाखा खोलिने छ । यसको कारोबार सेप्टेम्बर पहिलो सातादेखि न्युयोर्कबाट हुँदैछ । यो संस्थालाई अमेरिकी केन्द्रीय सरकार अन्तर्गत नेसनल क्रेडिट युनियन एडमिनिस्ट्रेसनले बैंकिङ कारोबार गर्ने अनुमति दिएको भट्टले बताए।

यो संस्था स्थापनाका लागि सन् २०१५ को डिसेम्बरदेखि छलफल भइरहेको थियो । कार्यकारी समितिका संयोजक मोहन ज्ञवालीका अनुसार संस्थाले अमेरिकन एक्सप्रेस, डिस्कभरी, भिसा कार्ड, मास्टर कार्ड जस्तै नेपालीले पनि अब आफ्नै क्रेडिट कार्ड प्रयोग गर्न पाउने बताए । सामुदायिक अवधारणामा कारोबार गर्ने अनुमति पाएको एभरेस्ट फेडरलले अमेरिकामा रहेका अन्य बैंकको तुलनामा सहुलियत दरमा निक्षेप संकलन, कर्जा प्रवाह, बचत, ब्याज, ऋण उपलब्ध गराउन र क्रेडिट कार्ड पनि दिन सक्ने अध्यक्ष भट्टले बताए।

अमेरिकी सरकारले सामुदायिक वित्तीय संस्थालाई कर छुट दिने भएकाले पनि धेरै नेपालीले यसबाट लाभ लिन सक्नेछन् । यसमा खाता खोल्न नेपालीभाषी हुनुपर्ने वा आफन्त हुनुपर्ने छ । गैरआवासीय नेपालीबाहेक अरुले यसमा खाता खोल्न पाउने छैनन्।

बैंकले थोरै ब्याजमा ऋण प्रवाह गरी बचत गर्नेलाई बढी नाफा दिने लक्ष्य लिएकाले अमेरिकामा कम आय भएका नेपालीलाई व्यापार व्यवसायमा प्रोत्साहन मिल्ने अध्यक्ष भट्टको दाबी छ । अमेरिकामा समुदायको आर्थिक हित प्रवद्र्धनको उद्देश्य लिएर युनियन स्थापना हुने गरेका छन् । यहाँ विभिन्न देशबाट आएका आप्रवासीले आ–आफ्नो समुदायलक्षित क्रेडिट युनियन सञ्चालन गर्दै आएका छन् । सम्बन्धित देशका आप्रवासीको संख्या एवं आर्थिक गतिविधि बढ्दै गएपछि यस्तो सामुदायिक बैंकिङ संस्था सञ्चालनमा ल्याएको प्रचलन देखिन्छ।

क्रेडिट युनियनलाई निक्षेप संकलन एवं कर्जा प्रवाह दुवै गर्ने अनुमति हुन्छ । यहाँ करिब ६ हजार जति क्रेडिट युनियनमा पछिल्लो समय आइरिस, पोलिस, इटालियन, चाइनिज र फ्रान्सेलीहरुले सामुदायिक बैंकिङ प्रणाली अन्तर्गत क्रेडिट युनियन खोलेका छन्।

एभरेस्ट फेडरलमा एक सय ९१ चार्टर सदस्य रहेको जनाउँदै ज्ञवालीले यसलाई न्युयोर्कबाट सुरु गरी नेपालीको बाक्लो बस्ती रहेको क्यालिफोर्निया, डिसी, फ्लोरिडा, टेक्ससलगायत स्थानमा विस्तार गर्ने योजना रहेको बताए।

यो संस्थाले अमेरिकाभर बसोवास गर्ने नेपाली समुदायभित्रका सबै व्यक्तिलाई संस्थामा सदस्य र डिपोजिटर बनाएर सुविधा प्रदान गर्ने लक्ष्य राखेको छ । त्यसअनुसार सबै राज्यमा शाखा सञ्चालन गर्ने अनुमति प्राप्त गरेको छ । संस्थाले पाँच वर्षभित्रमा कम्तीमा १० वटा शाखा खोल्ने र १० हजार डिपोजिटर संख्या पु¥याई दुई सय मिलियन अमेरिकी डलरभन्दा माथिको कारोबार गर्ने लक्ष्य लिएको छ।

अमेरिकामा विभिन्न पेशागत रुपमा क्रेडिट युनियन खोल्न पाइन्छ । नेसनल क्रेडिट युनियन एडमिनिस्ट्रेसनका अनुसार १० करोडभन्दा बढी अमेरिकी क्रेडिट युनियनका सदस्य छन् । यो अमेरिकामा आर्थिक रुपले सक्रिय जनसंख्याको झन्डै आधा हिस्सा हो । यहाँ क्रेडिट युनियनलाई सामुदायिक बैंकका रुपमा हेर्ने गरिन्छ । नेपालका सहकारीभन्दा यो धेरै फरक छ । अमेरिकामा क्रेडिट युनियनले बैंकसरह डिपोजिट र ऋण प्रवाह गर्न पाउँछन् । जो–जो यसका डिपोजिटर छन् उनीहरु नै यसका मालिक हुन् र उनीहरु नै नाफामा हकदार हुन्छन्।