१६ चैत्र २०८०, शुक्रबार
Follow Us

पोखरामा पूर्वराजा ज्ञानेन्द्रको भव्य स्वागत

नेपालब्रिटेन संवाददाता
७ पुष २०७५, शनिबार १२:४७

पोखरा । पूर्वराजा ज्ञानेन्द्र शाहले पोखरेली जनताको माया र सद्भावले आफू पटक–पटक पोखरा आएको बताएका छन् । शनिबार पोखराको प्रसिद्ध विन्ध्यवासिनी मन्दिरमा दर्शनका लागि गएका पूर्वराजा ज्ञानेन्द्रले सन्चारकर्मीको जिज्ञासामा यस्तो जवाफ दिएका हुन् । उनले पोखरेलीहरुको स्वागत र सत्कार देख्दा आफूलाई गर्व महसुस भएको उल्लेख गरे ।

बिहान ११ बजे पूर्वराजा ज्ञानेन्द्रले पूर्वरानी कोमल शाहसँगै मन्दिर दर्शन गरेका हुन् । उनले मन्दिरमा करिब २० मिनेटसम्म पूजाआजा गरेका थिए । पूर्वराजा ज्ञानेन्द्रको स्वागतका लागि पोखराको नालामुखदेखि विन्ध्यवासिनी मन्दिरसम्मको करिब एक किमि क्षेत्रमा राजावादी, समर्थकहरु र स्थानीय लामबद्ध थिए । पूर्वराजा ज्ञानेन्द्रको स्वागतकाक्रममा पञ्चेबाजा र झाँकीसमेत प्रदर्शन गरिएको थियो ।

पूर्वराजालाई हेर्नका लागि शुभेच्छुकको ठूलो भीड लागेको थियो । नालामुखदेखि मन्दिरसम्मको सडकमा यातायात आवागमन नै बन्द गरेर उनको स्वागत गरिएको थियो । त्यसक्रममा उनीहरुले ‘गणतन्त्र मुर्दावाद’, ‘राजा आउ, देश बचाउ’, ‘हाम्रो राजा हाम्रो देश, प्राणभन्दा प्यारो छ’लगायतका नारा लगाएका थिए । उनको स्वागतका लागि राप्रपा, शिवसेना, पूर्वपञ्चहरु सक्रिय छन् ।

नितान्त व्यक्तिगत भ्रमणमा पोखरा आएको बताउने उनले दुई सातासम्म यहाँ रहँदा यस क्षेत्रका विभिन्न मठ–मन्दिरको दर्शन गर्ने कार्यक्रम रहेको बताइएको छ । गएको पुस २ गते पोखरा आएका उनले यहाँ रहँदा विभिन्न क्षेत्रका प्रबुद्ध व्यक्तिहरुसित समसामयिक परिस्थितिबारे छलफल गर्दैआएका छन् ।