१५ श्रावण २०८२, बिहीबार
Follow Us

उपसभामुख प्रकरणमा ९ लाख लेनदेन भएको प्रमाण मसँग छ: मुकुल ढकाल

नेपालब्रिटेन संवाददाता
८ श्रावण २०८१, मंगलवार ०५:५५

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट निष्काशित महामन्त्री मुकुल ढकालले उपसभामुख इन्दिरा रानाले भिसाको मिति अघि सार्न अमेरिकी दूतावासलाई पत्र लेखेको प्रकरणमा आर्थिक लेनदेन भएको आरोप लगाएका छन् ।

मुकुलले सामाजिक सञ्जालमार्फत उपसभामुख रानाको सचिवालय र अमेरिका जान लागेका व्यक्तिहरुबीच ९ लाख रुपैयाँ लेनदेन भएको र पछि फिर्ता भएको दाबी गरेका हुन् ।

उनले रानाले दूतावासलाई लेखेको पत्र तीन महिनाअघि नै आफूले पाएको र छानबिनसमेत गरेको बताए । गत वैशाखमा पार्टी संगठन विभाग प्रमुख शंकर श्रेष्ठले आफूलाई उक्त पत्र वाट्सएपमा फरवार्ड गरेको उल्लेख गरेका छन् ।

‘पीडितका अनुसार एक वर्ष अगाडि उपसभामुख सचिवालयले अमेरिका पठाइदिने भन्दै उहाँसँग पैसा लिएको थियो र अमेरिका भिसा नलागेपछि कहिले बेलायत त कहिले अर्को कुनै देश पठाइदिने भन्दै उपसभामुख सचिवालयले अलमलाएका कारण आफ्नो पैसा फिर्ता गराइदिन भन्दै पार्टीको सम्पर्कमा आएकी थिइन्’, ढकालले लेखेका छन् ।

पत्र पाएपछि आफूले पार्टी सभापति रवि लामिछाने, उपसभापति डा. स्वर्णिम वाग्लेसहितलाई जानकारी गराएको र उपसभामुखसँग सोधपुछ गरेको ढकालले बताए । तर, उपसभामुख रानाले त्यस विषयमा आफूलाई थाहा नभएको जवाफ दिएको दाबी उनले गरेका छन् । पछि अध्यागमन विभागमार्फत बुझ्दा पत्रमा नाम उल्लेख भएका व्यक्तिहरू अमेरिका नउडेको पाइको पनि ढकलले लेखेका छन् ।

‘९ लाख रूपैयाँ उपसभामुख सचिवालयले लिएको रहेछ र त्यसलाई फिर्ता गरेपछि पीडितले बयान दिन र थप सम्पर्कमा आउन इन्कार गरिन्’, ढकालले भनेका छन, ‘पीडितका अनुसार ९ लाख फिर्ता भएको बैङ्क स्टेटमेन्ट अझै पनि पीडितसँग सुरक्षित छ ।’

उपसभामुखको पत्र र मानव तस्करी जस्तो जघन्य अपराध जोडिएको विषयमा पार्टीका सीमित व्यक्तिको जानकारीमा आफूले अनुसन्धान गरिरहेको समयमा आफूमाथि कारबाही भएको उनको भनाइ छ ।

उपसभामुखको विषय पार्टीको मात्र नभई देशकै प्रतिष्ठासँग जोडिएको राज्यको उपल्लो तहको विषय भएकाले त्यसमा छानबिन हुनुपर्ने माग गरे । उनले रानाले भिसाको अन्तर्वार्ता मिति अघि सार्न सिफारिस गरेका ५ जनालाई खोजी गरी छानबिन हुनुपर्ने माग ढकालको छ ।

‘राज्यले यस विषयमा अनुसन्धान गरोस् र अनुसन्धानका क्रममा राज्यका कुनै पनि निकायले के भएको थियो भनेर सोध्न मलाई अनुसन्धानमा बोलाए, मसँग रहेका प्रमाण बुझाउन तयार छु , मलाई थाहा भएका सबै कुरा बताउन तयार छु’, ढकालले लेखेका छन् ।

आफ्नो विगतको प्रतिष्ठाका खातिर र आगामी दिनमा पनि नेपाली राजनीतिलाई नैतिकताको पाठ सिकाउने भए आफूँमाथि आफैँ छानविनको माग राखेर पदबाट राजीनामा दिन ढकालले रानालाई सुझाव दिएका छन् ।

धेरै पढिएको