२२ बैशाख २०८१, शनिबार
Follow Us

मेरो आदर्श : प्रधानन्यायाधीश सुशीला कार्की

नेपालब्रिटेन डट कम्
१२ आश्विन २०७३, बुधबार १२:४९

कविता बस्नेत, अधिवक्ता
कानुन व्यवसायी कविता बस्नेतको कार्यक्षेत्र विराटनगर हो । वर्तमान प्रधानन्यायाधीश सुशील कार्कीको सामीप्यमा रहेपछि उनलाई पनि वकिल बन्ने रहेर जाग्यो । पेसाप्रति उनलाई गर्व लाग्छ, अझ पीडितलाई न्याय दिलाउन पाउँदा उनी प्रफुल्ल हुन्छिन् । मोफसलमा कानुन व्यवसायको अवस्था, पेसाप्रति महिलामा हुने विभेद र उनको पारिवारिक जीवनबारे कुमार राउतले गरेको कुराकानी :

० कति भो पेसामा संलग्न हुनुभएको ?
– दुई दशक बढी भइसक्यो । हामी नोबल ल च्याम्बरलाई विराटनगरमा स्थापित गराउने प्रयास गरिरहेका छौं ।

० हामी भन्नाले ?
– हामी श्रीमान् श्रीमती नै कानुन व्यवसायी हौं । सुरुका दिनमा म एक्लै थिएँ, उहाँको बेग्लै व्यवसाय थियो, पछिल्लो समयमा कानुन व्यवसायमै संलग्न हुनुभयो ।

० कस्ता मुद्दा हेर्नुहुन्छ ?
– कुनै स्पेसिफिक छैन, सबै किसिमका मुद्दा हेर्छौं । विशेष गरी अन्यायमा परेकालाई न्याय दिलाउने काम हाम्रो पहिलो हो ।

० मोफसलमा व्यवसाय राम्रै चलेको छ ?
– सबैतिर उस्तै होला जस्तो लाग्छ । यद्यपि द्वन्द्वकालमा मुद्दाको चाप घटेको थियो, तर अहिले मुद्दाको चाप उस्तै लाग्छ ।

० वकिल बन्न के कुराले पे्ररित ग¥यो ?
– महिलाले कानुन पढ्नुपर्छ भन्ने चेतना चाहिँ पहिलेदेखि नै थियो । पढ्दै जाँदा वकिल भइयो । पढेपछि ‘सुस’ गैरसरकारी संस्थाले हामीलाई वकालत गर्ने वातावरण बनाइदियो । यो पेसा सम्मानित हो भन्ने कुराको सबैभन्दा ठूलो पे्ररणाको स्रोत चाहिँ अहिलेकी प्रधानन्यायाधीश सुशीला कार्की हुनुहुन्छ । उहाँको नजिक भएर बसियो, उहाँले लिनुभएको बाटो लोभलाग्दो थियो, त्यसैले म पनि आकर्षित भएँ ।

० सम्मानित पेसा हो रहेछ त ?
– सबैतिरबाट राम्रो रेस्पोन्स आएको छ, म मेरो पेसाप्रति गौरव गर्छु । अरुले पनि सम्मान गरेकै छन् जस्तो लाग्छ ।

० स्थापित हुन कत्तिको संघर्ष गर्नुप¥यो ?
– कानुन व्यवसायीको सबैभन्दा ठूलो संघर्षको दिन भनेकै सुरुका दिनमा हो । त्यहाँबाट जति मेहनत, लगानशील र पेसाप्रति इमान्दार भयो त्यति नै छिटो स्थापित भइँदो रहेछ भन्ने मेरो अनुभव हो ।

० महिलालाई अझ कठिन होला होइन ?
– हाम्रा पालामा थियो, अहिले केही सुधार भएको छ, तर थोरै मात्र पेसामा टिक्छन् भन्ने कुरा जगजाहेर छ । परिवारको सपोर्ट भयो भने मात्र महिलाहरू यो पेसामा टिक्छन् । कठोर संघर्ष गरेपछि मात्र पेसामा स्थापित भइन्छ ।

० पढिसकेपछि गैरसरकारी संस्थातिर आकर्षित हुन्छन् नि ?
– त्यो सजिलो माध्यम हो, आर्थिक अवस्था कमजोर र परिवारको सहयोग भएन भने पेसा गर्नुभन्दा जागिर उत्तम विकल्प ठानिन्छ ।

० तपाईंलाई कसले सपोर्ट ग¥यो ?
– म आफ्नै संघर्षले स्थापित भएकी हुँ, विवाहअघि नै म पेसामा आबद्ध थिएँ । परिवारबाट सपोर्ट होइन, विरोध भएन ।

० कहाँ पढ्नुभयो ?
– प्राथमिक शिक्षा गाउँकै हसनदहमा भयो । त्यसपछि कलेज धरानमा पढें, बीएल विराटनगरबाटै सकें । कानुनमा त्योभन्दा माथिको पढाइ हुँदैन थियो । त्यसैले राजनीति र समाजशास्त्रमा डिग्री लिएँ । अहिले चाहिँ ब्राइट भिजनबाट एलएलएम गर्दैछु । त्यो पढाइ पनि सकिन लागेको छ ।

० वकालतबाहेक अरु काम पनि गर्नुहुन्छ ?
– एकदम थोरै फुर्सद हुन्छ, सामाजिक उत्तरदायित्व निर्वाह गर्नकै लागि भए पनि कुनै कार्यक्रममा पेपर प्रिजेन्टेसनलगायतको काममा संलग्न हुन्छु ।

० बेकार वकिल भएछु जस्तो लाग्दैन ?
– त्यस्तो पश्चाताप छैन, म पेसाप्रति गर्व गर्छु ।

० विभेद चाहिँ कत्तिको छ नि ?
– विभेद कम हुँदै गएको महसुस भएको छ । तर पुरुष प्रधान समाजमा महिलाप्रति विभेद नभएको कुन क्षेत्र होला र ? बारको उपाध्यक्ष भइसकेको मान्छे म अध्यक्ष बन्न योग्य भइनँ । महिलालाई कोषाध्यक्ष, उपाध्यक्ष र सहसचिव बन्न मात्र योग्य देख्छ यो समाजले ।

० नेतृत्व त लडेर लिने होइन ?
– क्षमता र योग्यताको मूल्यांकन हुनुपर्छ भन्ने मेरो मान्यता हो । व्यक्तिको क्षमता सधैं अरुले रोक्न सक्दो रहेनछ, समयले त्यसको मूल्यांकन गर्दोरहेछ भन्ने महसुस भएको छ ।

० के मूल्यांकन भयो ?
– तपाईं पहिले यस्तो उस्तो हुनुपर्ने भन्छन् । कुनै पनि समितिमा महिलालाई समेट्न मात्र सहभागी गराउने होइन, उसको क्षमताको पहिचान गर्ने वातावरण विस्तारै बन्दै गएको पाएको छु ।

० यो पेसामा महिलाहरूको आकर्षण कस्तो छ ?
– मोफसलमा त एकदमै न्यून छ । विराटनगरमा हामी १० जनाजति महिला वकिल छौं । नयाँ पुस्तामा पनि त्यति आकर्षण देख्दिनँ । जति आउँछन्, उनीहरू आयोग र विदेशतिर जान्छन् ।

० किन त्यस्तो ?
– पेसामा टिकिराख्न धेरै अवरोधहरू आउँछन् । समयको पावन्दी हुँदैन, सुरुमा पैसा कमाउन पनि सकिँदैन । आर्थिक अवस्था राम्रो भएका व्यक्ति मात्र टिक्न सक्छन् । आर्थिक अवस्था राम्रो भएका व्यक्तिलाई कानुन पढ्न खासै रुचि हुँदैन ।

० महिलाका मुद्दा कत्तिको आउँछ ?
– महिला कानुन व्यवसायी हुनुको नाताले पनि मकहाँ धेरै महिला दिदीबहिनीहरू आउनुहुन्छ । पुरुषलाई भन्न नमिल्ने कुरा महिलालाई भन्न सजिलो हुने भएकाले पनि मकहाँ महिलाको मुद्दा बढी नै आउँछ ।

० विशेष कस्ता मुद्दा हुन्छन् ?
– घरेलु हिंसा, सम्बन्ध विच्छेद, बहुविवाह, नाता कायम, महिला बेचबिखनका मुद्दाहरू नै बढी हुन्छन् ।

० के पुरुषहरू नै दोषी हुन् त ?
– पछिल्लो समय पीडित पुरुषहरू पनि आउन थाल्नुभएको छ । दाजुभाइबाट श्रीमतीको नाममा सम्पत्ति राखेर विदेश जाने, विदेशबाट फर्केपछि श्रीमती पनि हुँदैन, सम्पत्ति पनि हुँदैन । त्यस्ता घटनाहरू धेरै आउन थालेका छन् ।

० कानुनले दिएको सुविधा दुरुपयोग गर्नेहरू पनि हुन्छन् ?
– सुरुमा भित्री कुरा खोल्नेहरू एकदमै थोरै हुन्छन् । काउन्सिलङ गरेपछि मात्र विस्तारै रहस्यहरू थाहा लाग्छ । कोही प्रलोभनमा परेका हुन्छन्, कोही जैविक आवश्यकता पूरा गर्न लाग्छन्, कसैलाई झुक्काइएको हुन्छ, कोही अज्ञानतावश लागेका हुन्छन् । ती सबै कुरा केश हेरेर मात्र भन्न सकिन्छ, दुरुपयोग भनिहाल्न मिल्दैन कि ?

० निजी कुरा पनि सोध्न मिल्छ ?
– सोध्नुहोस्, उत्तर दिन मिल्नेसम्म भनौंला ।

० कति दिदीबहिनी ?
– ६ दिदी बहिनीमध्येको चौथो म हुँ । एउटा भाइ छ । त्यही भाइको आशमा हामी धेरै दिदीबहिनी भयौं होला ।

० अरु दिदीबहिनीहरू ?
– सबैको आ–आफ्नै पेसा व्यवसाय छ । कानुन व्यवसायी म मात्रै हुँ ।

० वकिलसँगै विवाह गर्नुभएछ नि ?
– पढाइ सँगसँगै जस्तो हो । कलेजमा उहाँले मलाई मन पराउनुहुँदो रहेछ । नातेदारमार्फत कुरा अघि बढ्यो, पछि हामीले विवाह ग¥यौं ।

० बालबच्चा ?
– दुईवटी छोरी छिन् । एउटी ११ कक्षामा पुगिन्, सानी ७ कक्षामा पढ्दैछिन् ।

० छोरा नि ?
– हाम्रा लागि उनीहरू नै छोरा छोरी हुन् ।

० कस्तो प्रतिक्रिया आउँछ ?
– ज्योतिषलाई हेराएको एउटा नाति त जन्मिन्छ भनेका छन् भन्नुहुन्छ हजुरआमाले । अरुले सोध्दा दुईवटी छोरी छन् भन्यो भने नाक खुम्च्याएर अहिलेको जमाना ठीकै छ भन्छन् ।