२० बैशाख २०८१, बिहीबार
Follow Us

ओली सरकारप्रति प्रचण्ड किन भए निराश ?

नेपालब्रिटेन डट कम्
२४ फाल्गुन २०७५, शुक्रबार ०२:४९

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विगत केही दिनयता सरकारको कामकारबाहीबारे निराशाजनक अभिव्यक्ति दिँदैछन् ।

पार्टीका अर्का अध्यक्ष केपी शर्मा ओलीले ‘सुखी नेपाली समृद्ध मुलुक’को नारा बनाई सरकार सञ्चालन गरिरहेका बेला अध्यक्ष दाहालले भने सरकारका कामको समीक्षा गर्ने बेला भएको अभिव्यक्ति भएका छन् ।
ओली नेतृत्वमा सरकार गठन भएको एक वर्षमात्र बिते पनि दाहालले सरकारको कामप्रति सन्तोष गर्ने ठाउँ नभएको संकेत गरेका छन् ।
पूर्वउपप्रधानमन्त्री भरतमोहन अधिकारी र पर्यटनमन्त्रीसहित हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएकाको स्मृतिमा पार्टीले बिहीबार आयोजना गरेको श्रद्धाञ्जली सभामा पनि अध्यक्ष दाहालले सरकारको एक वर्षको समीक्षा गर्नुपर्ने दोहोर्याए । ‘दिवंगत नेताहरुको चाहना तथा उहाँहरुले जनतासँग भोट मागेअनुसार सरकारमा बसेर हामीले काम गर्न सकेका छौं कि छैनौं, अहिले आएर सरकारको समीक्षा पनि गर्नुपर्ने अवस्था आएको छ । यो विषयमा पार्टीभित्र पनि कुरा उठेको छ’, उनले भने ।

फागुन ११ गते भक्तपुर तरकारी तथा फलफूल बजार उद्घाटनका क्रममा दाहालले कहिलेकाहीं आफूलाई पनि राजनीति छोडेर खेती गर्न जाऊँ कि जस्तो लाग्ने गरेको अभिव्यक्ति दिए । ‘समृद्धिको यात्रा भनेको कृषिको आधुनिकीकरण र रोजगार वृद्धि हो,’ दाहालले भने, ‘हामीले ठूला कुरा गर्दै आएका छौं तर कृषि उत्पादनका उपभोक्ता र कृषकको दूरी घटाउन सकेका छैनौं ।’

उनले बिहीबार पनि प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रामबहादुर थापालगायतको उपस्थितिमै सरकारले जनभावनाअनुसार काम गर्न सकेको वा नसकेको भन्ने समीक्षा गर्नुपर्ने बताए ।

दाहालबाट सरकारको समीक्षाको कुरा किन आइरहेको छ ? नेकपा स्थायी समिति सदस्य बेदुराम भुसालले पार्टीभित्र सरकारको समीक्षा गर्नुपर्छ भन्ने कुरा उठेको धेरै महिना भइसकेको बताए । सरकारमा रहने र सरकारका कामकारबाहीका विषयमा किन आलोचना भइरहेको छ भन्नेबारेमा समीक्षा गरौं भन्ने कुरा उठिरहेको उनले बताए । ‘गएको स्थायी कमिटी बैठकमा यो विषयमा कुरा उठेको थियो तर सरकारको समीक्षा गर्नकै लागि छुट्टै बैठक बस्ने भनेपछि त्यस बेला समीक्षा हुन सकेन र सरकारको समीक्षाकै लागि भनेर बैठक पनि बस्न सकेन त्यस कारण दाहालले प्रधानमन्त्रीका अगाडि समीक्षाको कुरा उठाउनुभएको हुनसक्छ’, उनले भने । नागरिक दैनिकमा खबर छापिएको छ ।