२० बैशाख २०८१, बिहीबार
Follow Us

शालीग्राम चोरी गर्ने पक्राउ

sarusaru
२८ फाल्गुन २०७५, मंगलवार ०२:१२

पर्वत: मोदीवेणीधामबाट शालिग्राम शिला चोरी गर्ने तीन जना पक्राउ परेका छन् । गत फागुन ५ गते राति कुश्मा नगरपालिका–५ मोदीवेणीधाममा रहेको नृसिंह मन्दिरबाट शालीग्राम शिला चोरीमा संलग्न चार जनामध्ये तीन जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा कुश्मा नगरपालिका–४ का २८ वर्षीय कसम पुन, वडा नं ६ का २९ वर्षीय सुमन गुरुङ र वडा नं १० का ३२ वर्षीय लेखबहादुर नेपाली रहेका छन् । चोरीका मुख्य योजनाकार धादिङ, निलकण्ठ–१० घर भई हाल कुश्मा नगरपालिका–५ बस्ने अञ्जान बराईली फरार रहेको प्रहरी नायब उपरीक्षक भुवनेश्वर तिवारीले जानकारी दिनुभयो । प्रहरीले गत फागुन २६ गते पुनको कोठामा लुकाइराखेको अवस्थामा एक थान शालीग्राम शिला बरामद गरेको थियो । पुनकै बयानका आधारमा प्रहरीले अन्य दुई जनालाई पक्राउ गरेको हो । प्रहरीले कुश्मा नगरपालिका–४ कालीगण्डकी छमर्के सामुदायिक बनमा ३७ थान शालीग्राम शिला लुकाएको अवस्थामा बरामद गरेको हो । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
रासस