१६ बैशाख २०८१, आईतवार
Follow Us

उपत्यकाको ट्राफिक व्यवस्थापन सुधार सम्बन्धी छलफल कार्यक्रम सम्पन्न

नेपालब्रिटेन डट कम्
१२ चैत्र २०७५, मंगलवार १३:१६

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको उपस्थितिमा नेपाल प्रहरी क्लब भुकुटीमण्डपमा ‘उपत्यकाको ट्राफिक व्यवस्थापन सुधारको लागि तयार पारिएको ३ महिने कार्य योजना-२०७५’ सम्बन्धमा सरकारी तथा गैरसरकारी निकायसँग छलफल कार्यक्रम मंगलबार सम्पन्न भएको छ ।
अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले उपत्यकाको ट्राफिक व्यवस्थापनलाई व्यवस्थित एवम् सुढृढ गर्नका लागि ट्राफिक व्यवस्थापनसँग सम्बन्धित सबै सरोकारवालाहरुले आ-आफ्नो क्षेत्रबाट दत्तचित्त भएर काम गर्नुपर्ने बताउनुभयो । सबै सरोकारवालाहरुले एकआपसमा समन्वय गरी आफ्नो जिम्मेवारीप्रति प्रतिवद्ध भएर आगाडि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
उपत्यकाको ट्राफिक व्यवस्थापन सुधारको लागि तयार पारिएको ३ महिने कार्य योजना दीर्घकालीन रुपमा लागू हुने चर्चा गर्दै प्रहरी महानिरीक्षक खनालले यस कार्य योजनालाई सामान्य पूर्वाधारको रुपमा खडा गरी काम गर्न सक्छौं भन्ने कुराको प्रदर्शन गर्न उपस्थित सबै सरोकारवाला पक्षलाई आग्रह समेत गर्नुभयो ।
कार्यक्रममा महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले उक्त कार्ययोजना सम्बन्धी प्रस्तुतीकरण गर्दै उपत्यकाको ट्राफिक व्यवस्थापनलाई अझ सुढृढ, सबल र सुरक्षित बनाउन सरोकारवाला सम्पूर्ण निकायहरुवीच अन्तरक्रिया गरी ३ महिने अल्पकालीन कार्य योजना तयार पारी लागू गर्ने उद्देश्य अनुरुप कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।
उक्त ३ महिने कार्य योजना अन्तर्गत रिङरोड भित्रका कोरिडोर संचालनमा ल्याउने, सडक तथा फुटपाथ अतिक्रमण हटाउने, जेब्राक्रसिङ, लेनसेन्टर मार्किङ बनाउने, ट्राफिक सचेतना सम्बन्धी प्रशिक्षणमा ब्यापकता दिने, बस पकेट नियमन गरी संचालनमा ल्याउने र पार्किङ व्यवस्थापन गर्ने लगायतका कार्यक्रम रहेको प्रहरी बरिष्ठ उपरीक्षक पन्तले जानकारी दिनुभयो ।
उपत्यकाको ट्राफिक व्यवस्थापन सुधारको लागि प्रस्तुत गरिएको कार्य योजनाबारे कार्यक्रममा विभिन्न वक्ताहरुले आ-आफ्नो धारणा राख्नुका साथै सहभागीहरुवीच खुल्ला अन्तरक्रिया तथा छलफल समेत भएको थियो ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाद्वारा आयोजित उक्त कार्यक्रममा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन, काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरु, महानगरीय प्रहरी कार्यालय रानीपोखरीका कार्यालय प्रमुख, प्रहरी प्रधान कार्यालय राजमार्ग सुरक्षा तथा ट्राफिक निर्देशनालयका प्रमुख, सडक विभागका निर्देशक, यातायात व्यवस्था विभागका निर्देशक, गुणस्तर तथा नाप तौल विभागका प्रतिनिधि, नेपाल विद्युत प्राधिकरण काठमाडौंका प्रतिनिधि, सडक बोर्ड नेपालका कार्यकारी निर्देशक, नेपाल टेलिकम क्षेत्रीय निर्देशनालय त्रिपुरेश्वरका क्षत्रीय निर्देशक, काठमाडौं उपत्यका खानेपानी लिमिटेडका प्रतिनिधि, महानगरीय प्रहरी परिसर काठमाडौ, भक्तपुर र ललिपुरका कार्यालय प्रमुखहरू लगायत अन्य सरोकारवाला निकायका प्रमुख एवम् प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।