२३ बैशाख २०८१, आईतवार
Follow Us

डायलासिस मेसिन बिग्रँदा बिरामी परे मर्कामा

sarusaru
१९ चैत्र २०७५, मंगलवार ०३:५७

बागलुङ – धौलागिरी अञ्चल अस्पताल बागलुङमा डायलायासिस मेसिन बिग्रिँदा बिरामीहरु मर्कामा परेका छन् । डायलायासिस सेवा सुरु भएको पाँच महिनामै मेसिन बिग्रिएका कारण मृगौलाका बिरामीहरु मर्कामा परेका हुन् ।साविकको धौलागिरी अञ्चलका चार जिल्लाका मृगौला रोगबाट पीडित बिरामीको सेवालाई ध्यानमा राखेर संचालनमा आएको सेवामा प्रयोग भएको एक वटा मेसिन पाँच महिनामै काम नलाग्ने भएको छ । गत बैशाख १० गतेदेखि सुरु भएको डायलायासिस सेवाको लागि स्वास्थ्य मन्त्रालय स्वास्थ्य सेवा विभागले उपलब्ध गराएको ‘जोएहिल’ कम्पनीको मेसिन बिग्रिएको प्राविधिक झलक शर्माले जानकारी दिए ।

बिग्रिएको मेसिनले रगत शुद्धिकरण नगर्ने बताईएको छ । स्वास्थ्य सेवा विभागले दुई वटा मेसिन उपलब्ध गराएको थियो । एक वटा मेसिन इमरजेन्सी प्रयोगको लागि राखिएको छ । हाल अस्पतालको आन्तरिक स्रोतबाट खरिद भएको दुई वटा मेसिनबाट बिरामीको नियमित डायलायासिस हुँदै आएको छ । अञ्चल अस्पतालमा डायलायासिस सेवाका लागि आउने बिरामीको संख्या अत्याधिक भएपनि आवश्यकता अनुरुप सेवा प्रवाहमा समस्या भएको प्राविधिक शर्माको भनाई छ । ‘दुई वटा मेसिनबाट दैनिक दुई जनाको मात्र उपचार गर्न सकिन्छ’ उनले भने– ‘अझै दुई वटा मेसिन थप गर्न सकियो भने न्युनतम २४ बिरामीलाई मासिक सेवा दिन सकिन्छ ।’ अञ्चल अस्पतालमा हाल ४२ जना डायलायासिस गर्नुपर्ने बिरामी सम्पर्कमा आएका छन् । एक जना बिरामीले हप्तामा न्युनतम दुई पटक डायलिसिस गर्नुपर्ने हुँदा सम्पर्कमा आएका सबै बिरामीलाई सेवा प्रवाह गर्न नसकिएको अस्पतालका निमित्त मेडिकल सुपेरिटेन्डेन्ट डा. शैलेन्द्र विक पोख्रेलले बताए ।

‘मेसिन नहुँदा बिरामीलाई पोखरा पठाउनु परेको छ’ उनले भने– ‘चन्दा संकलन गरेर भएपनि गरिब बिरामी चर्काे मूल्य तिरेर पोखरा बस्न बाध्य छन् ।’ थप दुई वटा डायलायासिस मेसिनको लागि गण्डकी प्रदेश सरकारसँग माग गरेको उनले बताए । डायलायासिस सेवाको लागि एक जना विशेषज्ञा डाक्टर, चार जना स्टाफ नर्स र एक जना प्राविधिक कर्मचारी रहेका छन् । मेसिन नहुँदा तालिम प्राप्त नर्स अस्पतालको आन्तरिक सेवामा खटिनु परेको छ ।
जनमञ्च