बारा–हुरीबतासले वितण्डा मच्याएको बाराको फेटा गाउँपालिका भलुहिभर्वोलिया, पुरैनिया र बरैयामा सरकारी उच्च अधिकारी, राजनीतिक दलका नेता कार्यकर्ता र सर्वसाधारणको समेत भीडले राहत वितरण र भग्नावशेष पन्छाउने कार्य प्रभावित बनेको छ ।
हुरीबतासले अत्यधिक क्षति पुर्याएको यी गाउँमा उच्चपदस्थ सरकारी अधिकारीसहित बाहिरबाट दिनहुँ हजारौंको संख्मामा सर्वसाधारणको ओइरो लाग्ने क्रम बढेको छ ।
‘बिहानदेखि नै गाउँको सडकमा भीआईपी चढेर आएका गाडीको जाम लागेको स्थानीय जफिर आलमले बताए । उनले भने– ‘गाडीको जाम र सर्वसाधाणको भीडभाडले अस्पतालमा घाइते आफन्तलाई भेटघाट गर्न घर फर्किन समेत समस्या भएको छ ।’ ‘मन्त्री र नेताहरु आएर हेर्छन्, सोधेको कुरा बताउनै पर्यो’, उनले भने– ‘भीडभाडले कामको मेलोमेसो नै पाउन सकिएको छैन ।’
प्रभावित क्षेत्रमा मंगलबार सत्तारुढ नेकपाका अध्यक्ष प्रचण्ड, बरिष्ठ नेता माधवकुमार नेपाल र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, राजपका नेता राजेन्द्र महतो, जनमत पार्टीका सीके राउत, उद्योग तथा वाणिज्य मन्त्री मातृका यादव, प्रदेश नम्बर २ का पूर्वाधारमन्त्री जितेन्द्र सोनललगायत नेता कार्यर्ताले स्थलगत भ्रमण गरेका छन् । नेपाल समाचारपत्र दैनिकमा खबर छापिएको छ ।