काठमाडौँ– अहिलेको सिजनमा आउने कतिपय आँधीले सानो क्षेत्र ओगटे पनि कडा प्रभाव बोकेको हुने वरिष्ठ मौसमविद् राजेन्द्र श्रेष्ठ बताउँछन् ।
“चितवन हुँदै वेगमा गएको चिसो बादलसँग बङ्गालको खाडी र अरेबियन खाडीको तातो वायुसहित वेगमै आएको बादल त्यो क्षेत्रमा पुगेर मडारियो,” विज्ञ श्रेष्ठले थपे, “बादलभित्रै तातो वायु र चिसो वायुको घर्षण सानो घेराभित्र धेरै हुँदा ठूलाठूला ढिक्काको असिना बन्यो ।” त्यो क्रम वायुमण्डलको उच्च तहमा नभई तल्लो तहमै भएकाले बारा पर्सामा ठूला असिना बर्षिएको उनले बताए । हुन पनि असिनाको आकार पनि झण्डै अण्डाजस्तो भएको स्थानीयको भनाइ छ ।
वायुमण्डलमा न्यून चापीय रेखाको विकास भएपछि यसरी वायु पश्चिमबाट पूर्वतिर बहन्छ । त्यही दिन बङ्गालको खाडीबाट साढे एककिलोमिटरको उचाइ हुँदै तातो हावासहितको बादल उत्तरपश्चिम हुँदै त्यहाँ पुग्यो । “भारतको मध्यप्रदेशको न्यून चापीय प्रणालीबाट खाली ठाउँ खोज्दै आएको थियो,” मौसमविद् मिन अर्यालले भने, “त्यहीबेला अरेबियन सागरको उच्च चापीय तातो वायु पनि त्यही गतिमा बारा पर्सा आइपुग्यो ।” यसरी आएको वायुको वेग झण्डै ७० किलोमिटर प्रतिघण्टा रहेको थियो । उनका अनुसार तीव्र गतिको तातो, चिसो हावा र स्थानीय वायु खुला ठाउँमा एकैचोटी ठोक्किँदा आँधीको विकास भयो । तातो हावा माथि जान खोज्ने र चिसो हावा तल खस्न खोज्ने सङ्घर्षले भुमरी बन्यो । मौसमको त्यो चक्रले असिनासँगै आँधी मानव बस्तीमा वर्षियो । गोरखापत्र दैनिकमा खबर छापिएको छ ।