पर्सा । बारा र पर्सामा हावाहुरीका कारण ज्यान गुमाएकाहरुको परिवारजनलाई १० लाख रुपैयाँ तत्काल उपलब्ध गराउन हिन्दू परिषद् नेपालले सरकारसँग माग गरेको छ । हिन्दू परिषद् नेपालका राष्ट्रिय अध्यक्ष संतोष पटेलले मंगलवार एक विज्ञप्ति जारी गरी मृतक परिवारलाई राहत स्वरुप १० लाख क्षतिपूर्ति, घाइतेहरुको निःशुल्क उपचार, घरवारविहीनलाई घर निर्माण र क्षतिअनुसार किसानलाई तुरुन्त राहत उपलब्ध गराउन माग गरेका छन् ।
अध्यक्ष पटेलले जारी गरेको विज्ञप्तिमा मृतकहरुप्रति श्रद्धाञ्जली, मृतक परिवारजनमा सम्वेदना तथा घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको काम गरेका छन् । बारा, पर्सामा आइतबार राति गएको हावाहुरीबाट घाइते भएकाहरुसँग अध्यक्ष पटेलसहित महासचिव अनिरुद्ध सिंह, केन्द्रीय सदस्यहरु श्रीराम उपाध्याय, लालबाबु प्रसाद कुर्मी, संजय सरार्फ, सचिवालय सदस्य भरत सरार्फ, हिन्दू युवा परिषदका केन्द्रीय अध्यक्ष पंडित सचितनन्द दुबे, केन्द्रीय सदस्य श्यामबाबू गुप्ता, सल्लहकार राजेस्वर प्रसाद सोनार, रामराज परिषद्का केन्द्रीय संयोजक धर्मेन्द्र पटेल, संरक्षक डा.अनिल झा सोमवार बिहान नारायणी अस्पताल, एल.एस.न्यूरो एण्ड जेनरल हा‘स्पिटल वीरगंज, नेशनल मेडिकल कलेज, बीरगंज हेल्थ केयर, कलैया अस्पताल पुगेर घाइतेहरुको अवस्थाबारे जानकारी लिएका छन् ।
परिषद्ले आइतबार राति आएको हावाहुरीको कारण बारा, पर्सामा भएको मानवीय क्षति प्रति गहिरो दुःख प्रकट गरेको छ । घटनामा ज्यान गुमाएका प्रति संवेदना प्रकट गर्दै परिषद्ले घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामनासमेत गरेको छ । हावाहुरीले कलैया उपमहानगरपालिका वडा नम्बर १८ धर्मनगर, फेटा गाउँपालिकाको पुरनिया, भरभालिया, भलही, परमानीपुर गाउँपालिकाका चैनपुरमा करीव २८ जनाको ज्यान गएको छ । टोलीले हवाहुरीबाट क्षति पुर्याएको बारा र पर्सा जिल्लामा सोमबार नै स्थलगत अवलोकन गरी सहयोग एवं समन्वयको कार्यलाई जारी राखेको छ ।