२१ बैशाख २०८१, शुक्रबार
Follow Us

बारा र पर्साका हावाहुरी पीडित परिवारको घर बनाउन प्रदेश सरकारले सहयोग गर्ने मुख्यमन्त्री राउतको घोषणा

नेपालब्रिटेन डट कम्
२० चैत्र २०७५, बुधबार १६:१८

काठमाडौं। प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले बारा र पर्सामा हावाहुरीका कारण निधन भएका पीडित परिवारका लागि प्रदेश सरकारले घर निर्माण गर्न सहयोग गर्ने घोषणा गरेका छन् ।
बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै मुख्यमन्त्री राउतले हावाहुरीका कारण घरबारविहीन भएका सबै परिवारको लागि घर निर्माण गर्ने जनाएका हुन् ।
उनले भने,‘प्रदेश सरकारले उहाँहरुको लागि सामूहिक पूनर्वासको लागि प्रबन्ध गर्ने सोच बनाएको छ । आन्तरिक मामिला तथा योजनामन्त्रीको संयोजकत्वमा बनेको पाँच सदस्यी समितिले पनि त्यही कुरा सिफारिश गरेको छ । हामी सहयोग गर्न तयार छौं ।’
उनले सिँगो पीडित परिवारलाई प्रदेश सरकारको साथ र सहयोग रहेको विश्वास दिलाए । उनले भने,‘प्रदेश सरकार पीडितहरुको दुःखमा साथमै छ । हामी घरदैलो गरिरहेका छौं । उहाँहरुको पीडा कम गर्न लागिरहेका छौं ।’ प्रदेश सरकार पीडितहरुको दुःख कम गर्नको लागि जिम्मेवार ढंगले लागिरहेको उनले स्पष्ट पारे ।
मुख्यमन्त्री राउतले घट्ना घटेकै दिन स्थानीय नेता तथा कार्यकर्ता, गाउँपालिका प्रमुख, प्रदेश सरकार घट्नास्थल पुगेको पनि जनाए । उनले भने,‘विहान ७ बजे नै प्रदेश सरकारको मन्त्रिपरिषद बैठक बसेर उद्धार तथा राहतमा कुनै कसर बाँकी नराख्न निर्देशन दिएको थियो । र, घाईतेहरुको सम्पूर्ण उपचार निःशुल्क गर्ने निर्णय गरेको थियो ।’ घाईतेहरुको उपचारको सम्पूर्ण खर्च प्रदेश सरकारले व्यहोर्ने उनले जनाए ।
राउतले घट्नास्थलको दृश्य दर्दनाक रहेको बताउँदै त्यहाँ पुग्ने जो कोहीको पनि आँखा रसाउने बताए ।