२० बैशाख २०८१, बिहीबार
Follow Us

सम्बन्ध विच्छेद गर्दा अंश लिँदैनन् महिला

नेपालब्रिटेन डट कम्
२७ चैत्र २०७५, बुधबार ०३:२२

विराटनगर– सम्बन्ध विच्छेद गर्दा महिलाले श्रीमान्को सम्पत्तिबाट आधा अंश पाउने कानूनी व्यवस्था छ । महिलाले अंश पाउने व्यवस्था कानुनले गरेको भए पनि धेरै महिलाले श्रीमान्बाट अंश लिने गरेका छैनन् ।
आइतबार जिल्ला अदालत मोरङमा छ जोडीले सम्बन्ध विच्छेद गरे । तीमध्ये चार जोडी मोरङ बेलबारी नगरपालिकाका मात्र थिए । सम्बन्ध विच्छेद गर्ने महिला कसैले पनि श्रीमान्बाट अंश लिएनन् ।
आइतबार जिल्ला अदालत मोरङको २ नम्बर इजलासमा न्यायाधीश पूर्णेश्वरप्रसाद उपाध्यायले सम्बन्ध विच्छेदको मिसिल हेरिरहेका थिए ।
सुनुवाइका क्रममा न्यायाधीश उपाध्यायले हरेक जोडीलाई सोधे, ‘के का लागि यो कागज लिएर आएको ?’ जोडीहरू भन्थे ‘सम्बन्ध बिच्छेद गर्न ।’उनी फेरि सोध्थे ‘अब के गर्ने ? ’ जवाफ आउँथ्यो ‘छुट्टिएर बस्ने ।’ ‘सम्बन्ध विच्छेद गर्दा अंश पाइन्छ भन्ने थाहा छ ?’ न्यायाधीश उपाध्यायको प्रश्न हुन्थ्यो । महिलाहरू भन्थे ‘थाहा छ तर नलिएको ।’ त्यसमध्ये एकजना महिलाले भनिन् ‘छोरो बाबुसँगै बस्ने भयो, त्यसकारण मैले अंश नलिने निर्णय गरेंँ ।’
आइतबार सम्बन्ध विच्छेद गरेकामध्ये सुन्दरहरैंचा नगरपालिकाकी महिलाले भने श्रीमान्सँग तीन लाख रुपियाँ नगद लिएर सम्बन्ध विच्छेद गरेको जानकारी दिइन् । श्रीमान्को सुनको कारोबार थियो । अंश दाबी गर्दा राम्रै सम्पत्ति हातपर्ने अवस्था थियो तर तत्कालको खर्चमै उनले सहमति जनाइन् ।
सोमबार पनि त्यस्तै भयो । जिल्ला अदालत मोरङबाट आठ जोडीले सम्बन्ध विच्छेद गरे । सम्बन्ध बिच्छेद गर्ने आठवटै जोडीका महिलाले श्रीमान्बाट अंश लिएनन् । उनीहरूबीच लेनदेन भएको अन्य आधार पनि भेटिएन ।
अंश पाउने प्रक्रिया लामो र झण्झटिलो भएकाले महिलाले अंश नलिने गरेको कानून व्यवसायी बताउँछन् । गोरखापत्र दैनिकमाखबर छ ।