काठमाडौं– बालुवाटारमा रहेको १ सय १३ रोपनी ३ आना सरकारी जग्गा घोटाला प्रकरणमा आफ्ना नाम समेत मुछिएपछि नेकपा महासचिव विष्णु पौडेलले आफ्नो ध्यानाकर्षण भएको जनाएको छन् ।
बुधबार एक विज्ञप्ति जारी गर्दै पौडेलले जनमानसमा भ्रम सिर्जना हुने र वास्तविकता ओझेल पर्ने गरी सञ्चारमाध्यमले समाचार प्रकाशित गरेको भन्दै आपत्ति जनाएका छन् ।
‘२०६१ पुस २९ गते प्रचलित कानुनबमोजिम बिक्री गर्ने व्यक्तिको नाममा मालपोत कार्यालयमा दर्ता श्रे्रस्ता कायम रहेको र सम्बन्धित मालपोत कार्यालयले खरिद बिक्री गर्न मिल्ने यकिन गरी रजिष्ट्रेशन लिखत पारित गरी प्रचलित कानुनबमोजिम लाग्ने राजस्व लिई रजिष्ट्रेशन पास गरिदिएको जग्गा खरिद गरी लिएको हुँदा समाचारमा उल्लेख भएजस्तो जग्गा हिनामिनामा म र मेरो परिवारका सदस्यको कुनै संलग्नता नरहेको व्येहोरा सम्बन्धित सबैलाई जानकारी गराउँदछु’ पौडेलको विज्ञप्तिमा भनिएको छ ।
मुआब्जा दिएर सरकारले अधिग्रहण गरेको बालुवाटारस्थित सरकारी सम्पत्ति ललितानिवास परिसरमा पौडेलको समेत ८ आना जग्गा रहेको समाचार बाहिरिएको थियो ।