२१ बैशाख २०८१, शुक्रबार
Follow Us

भारतीयलाई नागरिका बाँडेकाे भनिएकाे भाइरल भिडियो ‘भ्रमात्मक’

नेपालब्रिटेन डट कम्
१९ बैशाख २०७६, बिहीबार ०३:००

वीरगन्ज — जिल्ला प्रशासन कार्यालय पर्सा अगाडि नागरिकता लिन लामबद्ध नागरिकको एउटा भिडियो एक सातादेखि सामाजिक सञ्जालमा भाइरल भएको छ । भिडियो बनाएर फेसबुकमा अपलोड गर्ने नम्रता वाग्लेले नागरिकता लिने लाइनमा भारतीय नागरिक मात्र रहेको बताएकी छन् ।

नेपाल सरकारले जन्मका आधारमा नागरिकता लिएका नागरिकका सन्तानले वंशजको नागरिकता पाउने निर्णय गरेपछि भारतीयको भीड बढेको उनले दाबी गरेकी छन् । यस्तो देखेर आफू आश्चर्यचकित भएको पनि उनको भनाइ छ । ‘के आधारमा तपाईंले सबैलाई भारतीय नागरिक भन्नुभएको हो,’ वाग्लेको पोस्टमा वीरगन्जका सामाजिक अभियन्ता आशु सर्राफले लेखेका छन्, ‘गोरो छाला नभएका हरेक व्यक्तिलाई गैरनेपाली देख्ने तपाइर्ंको मानसिकतालाई उपचार आवश्यक छ । बिनाप्रमाण भ्रम फिँजाउन सरल छ तर यथार्थ बताउन गाह्रो हुन्छ । बिन्ती गर्छु मलाई प्रस्ट पारिदिनुस् कुन आधारमा तपाइर्ंले उहाँहरूलाई गैरनेपाली भन्नुभएको हो ?’

सर्राफको जिज्ञासामा वाग्लेले कुनै प्रतिक्रिया जनाएकी छैनन् । वाग्लेको भिडियोमा फोटोकपी पसलका साहूले ‘कसैलाई नेपाली बोल्न आउँदैन, न त लेख्न नै, निःसन्देह भारतीय त हुन् नि’ भन्ने प्रतिक्रिया दिएका छन् । नेपाली बोल्न नआउँदैमा कोही भारतीय हुन्छ भनी सोध्दा उनी चाहिनेभन्दा बढी भाइरल भयो भन्दै पन्छिए । गृह मन्त्रालयले उक्त महिलालाई खोजबिन गर्न जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले उक्त भिडियोले भ्रम फैलाएको बताए ।