२८ असार २०८२, शनिबार
Follow Us

दोस्रो नियात्रा सङ्ग्रह यही वर्ष लिएर आउने योजना छ: जीवा लामिछाने

नेपालब्रिटेन डट कम्
१९ बैशाख २०७६, बिहीबार १२:५७

पाँच दशकअघि चितवनको पदमपुरमा जन्मिनुभएका जीवा लामिछाने अध्ययनले इन्जिनियर हुनुहुन्छ । रुसमा अध्यनरत रहँदारहँदै व्यापार सुरु गर्नुभएका लामिछानेको विवाह डा. विन्दिता पोखरेलसँग भएको हो । उहाँका छोरा अनुराग र छोरी अनुकृतिका छन् । लामिछानेको रुसका साथै दुबई, जर्मनी, बेल्जियम, स्विजरल्याण्ड र नेपालमा व्यापार व्यवसाय रहेका छन् । सानैदेखि साहित्यमा रुचि राख्ने लामिछाने एक दशकदेखि नियात्रा लेखनमा सक्रिय हुनुहुन्छ । सन् २०१६मा ‘सरसर्ती संसार’ नियात्रा कृति प्रकाशित गरेका लामिछानेले आगामी वैशाखमा अर्को नियात्रा कृति प्रकाशनको तयारी गर्नुभएको छ । उहाँले २०६२ सालमा आमाबुवाको नाममा ‘खेमलाल हरिकला समाज कल्याण प्रतिष्ठान, चितवनको गठन गरी २०६३ सालदेखि आफ्नो जन्मस्थान पदमपुरको नाममा ‘पद्मश्री साहित्य पुरस्कार’ (उत्कृष्ट पुस्तक पुरस्कार) र २०६७ सालमा ‘पद्मश्री
साधना पुरस्कार’ (साहित्य साधक) को स्थापना गर्नुभएको हो । प्रस्तुत छ, गैरआवासीय नेपाली सङ्घका पूर्व अध्यक्षसमेत रहनुभएका लामिछानेसँग शब्दालयका लागि गरिएको कुराकानी :


यहाँको पृष्ठभूमि हेर्दा अध्ययनले इन्जिनियर, पेसाले व्यवसायी, रुचिले साहित्यसेवी जस्तो लाग्छ । हामीलाई आफ्नो लेखनको सुरुवात र लेखन यात्राबारे बताइदिनुहुन्छ कि ?

— साहित्यमा मलाई सानैदेखि रुचि थियो । अहिलेझैँ त्यतिबेला पुस्तक उपलब्ध नभए पनि विद्यालय पढ्दा साहित्यका पुस्तकहरू म खोजीखोजी पढ्थेँ । साहित्य अध्ययनमा रुचि भए पनि लेखनमा भने उतिसारो अभ्यास भएन । स्कूलमा हुने निबन्ध प्रतियोगितामा भने फाट्टफुट्ट भाग लिएर पुरस्कारसमेत जित्ने गरिन्थ्यो । त्यसपछि म छात्रवृत्ति पाएर शोभियत सङ्घमा अध्ययन गर्न गएँ । उता गएपछि लेख्ने अभ्यास बिल्कुलै छुट्यो भन्दा पनि हुन्छ । सामाजिक सञ्जाल सुरु भएपछि घुमेका–देखेका ठाउँहरूका बारेमा आफ्नो अनुभूतिहरू फुटकर रूपमा शेयर गर्न थालेँ । साथीहरूले हौसला बढाउँदै लगे । त्यसपछि लेख्ने अभ्यास केही बढ्दै गएको हो । यस मानेमा म आफूलाई एक सिकारु लेखकका रूपमा मात्रै गणना गर्छु । नियात्रा र संस्मरण लेखन मेरा रुचिका विषय हुन् । कहिलेकाहीँ मन परेको कृतिको छोटकरीमा ‘रिभ्यु’ लेख्न मन लाग्छ ।

कस्तो साहित्य पढ्न बढी मन पराउनुहुन्छ ?
— फिक्सन, ननफिक्सन दुवै मन पर्छन् । प्रसिद्ध व्यक्तिहरूको अटोबायोग्राफी पढ्छु । कथा, गजल, नियात्रा आदिमा विशेष रुचि छ । जासुसी उपन्यासमा भने कहिल्यै रुचि भएन ।
पहिलो पुस्तकको रूपमा नियात्रा सङ्ग्रह ‘सरसर्ती संसार” आएको छ र पाठकबाट पनि राम्रो प्रतिक्रिया पनि पायो । यहाँको तत्कालै अरू कुनै पुस्तक आउँदै छ कि ?
— ‘सरसर्ती संसार’ मैले रहरैरहरमा लेखेको हुँ र यो एक औसत पुस्तक मात्र हो भन्ने मलाई लाग्छ । तर पाठकहरूबाट मैले यो पुस्तकको निक्कै राम्रो रेस्पोन्स पाएँ ।
‘नेपालय’ प्रकाशन गृहबाट यो चौथो पटक मुद्रित भइसक्यो । पाठकहरूबाट प्राप्त भएको असीम स्नेह र सद्भावले यो विधामा मलाई कलम चलाउन प्रेरणा मिलेको छ । मेरो दोस्रो नियात्रा सङ्ग्रह सम्भवतः यही वर्षमा प्रकाशित हुनेछ । त्यसमा २१ वटा नियात्रा समेटिएका छन् ।

नेपाली साहित्य जगत्मा अहिले आत्मकथाको लहरै चलेको छ । साहित्य क्षेत्रबाहेकका क्षेत्रका हरेक सफल व्यक्तिहरू र पूर्व उच्च पदस्थ व्यक्तिहरू पनि आत्मकथाप्रति आकर्षित भैराखेका छन् । यहाँ आफू पनि एक सफल व्यवसायी तथा लेखक हुनुहुन्छ, आत्मकथा प्रकाशन बारे पनि सोच्नुभएको छ ?
— अहिले त्यस्तो केही सोचेको छैन । यद्यपि लामो रुस बसाईका अनुभवहरूकोसँगालो मैले ल्यापटपमा सुरक्षित राखेको छु ।

नेपालको सर्वाधिक राशीको साथै अत्यन्तै प्रतिष्ठित पुरस्कारदातामध्ये यहाँ पनि एक हुनुहुन्छ । पुरस्कारसँग जोडिएर आउने विवादलाई कसरी हेर्नुभएको छ ?
— म यसलाई बिल्कुल सामान्य रूपमा लिन्छु । विवाद हुन्छ भनेर चुप लागेर बस्ने कुरा भएन । सम्मान स्वयं सम्मानित हुनुपर्छ भन्ने मेरो मान्यता छ । यसको प्रमुख कडी निष्पक्षता र गुणस्तर नै हो । हामी सकेसम्म निरपेक्ष रहेर कृतिको मूल्याङ्कन गर्ने प्रयास गर्छौं । एउटा कृतिलाई पुरस्कृत गर्ने भने पछि केही हदसम्म ‘रुथलेस’ भने हुनै पर्ने रहेछ किनकि हरेक सिर्जनाका आ–आफ्नै विशेषता हुन्छन् । सिर्जनालाई प्रतिस्पर्धामा उतार्नु निक्कै कठिन काम रहेछ । पुरस्कृत नभएका साधक र कृतिलाई पनि हामी उत्तिकै
सम्मान गर्छौं ।

गैरआवासीय नेपाली सङ्घको संस्थापकसमेत भई नेपाली भाषा संस्कृतिलाई अन्तर्राष्ट्रियकरण गर्न संस्थागत रूपमै समर्पित यहाँले नेपाली साहित्यको डायस्पोरिक पृष्ठभूमिलाई कसरी मूल्याङ्कन गर्नुहुन्छ ?
— डायास्पोरिक लेखन फस्टाइरहेको मैले देखेको छु । प्रवासी नेपालीहरूले साहित्यका विविध विधा– कथा, कविता, उपन्यास, नियात्रा आदि क्षेत्रमा सशक्त रूपमा कलम चलाएका छन् । गजल लेखनमा त प्रवासमा अझ झन् बाढी नै आएको छ । डायस्पोराका लेखकहरूलाई आफ्नो मूल देश र कर्मभूमि दुवैको यथार्थता आधारित भएर लेख्ने सहुलियत छ ।
यो साइबर युग हो । अहिलेको युगमा सिर्जना, लेखन, पठन, वितरण आदि सबैको परिभाषा नै सिफ्ट भएको छ । त्यसैलाई मध्यनजर गर्दै साहित्य सेवामा समर्पित भएर डायस्पोराका केही लेखकहरूले समकालीन साहित्य, खसखस डट कम जस्ता साहित्यिक अनलाइन पत्रिकाहरू खोलेका छन् । साइबर लिटरेचरको प्रवृत्ति बढ्दै गएको छ । अनेसास, विश्व साहित्य महासङ्घजस्ता सङ्घ संस्थाहरू साहित्यको प्रवर्धनमा लागिपरेका छन् । विभिन्न देशहरूमा अन्तर्राष्ट्रिय साहित्यिक सम्मेलन, सेमिनार गोष्ठी आदि आयोजना हुने गरेका छन् । साहित्यिक साधकहरूको सम्मानमा पुरस्कार आदिको व्यवस्था भएको छ ।

समग्र नेपाली साहित्यको समकालीन लेखनलाई कसरी हेर्नुभएको छ । समकालीन लेखकहरूलाई कत्तिको अध्ययन गर्नुहुन्छ ?
— नेपाली भाषा पुरानो भए पनि रुसी, अङ्ग्रेजी, फ्रेन्च आदि भाषामा लेखिएका विश्व साहित्यको तुलनामा नेपाली साहित्य लेखन त्यति पुरानो होइन । त्यसैले युरोपियन देशहरूमा लेखिएका मेडियेभल, रिनेस्सा, रोमान्टिक युगीन साहित्यसँग नेपाली साहित्यको तुलना गर्न मिल्दैन । पछिल्लो समय नेपाली साहित्यको राम्रो प्रगति भएको मैले देखेकोछन् । विश्व परिवेशबाट प्रभावित भएर युवा पुस्ताले साहित्य सिर्जना गर्न थालेका छन् ।

नेपाली साहित्यलाई विश्वसाहित्यसँग तुलना गर्दा कहाँ पाउनुहुन्छ ?
— विश्व साहित्यसँग तुलना हुने गरी नेपाली भाषामा पनि कृतिहरू सिर्जना भएका छन् । तर मूल भाषामा लेखिएका ती कृतिहरूको विश्व भाषामा अनुवाद हुन नसकेकोले बाहिर त्यति चर्चा नभएको हो । पछिल्लो समय केही कृतिहरूको स्तरीय अनुवाद हुन थालेको छ, यो सुन्दर पक्ष हो । नेपाली सहित्यलाई अनुवादका माध्यमद्वारा व्यापक रूपमा विश्वमा फैलाउनु जरुरी छ । गैरआवासीय नेपाली सङ्घ, भाषा तथा साहित्य उपसमितिका साथीहरूले यस दिशामा केही प्रयासको थालनी गर्नुभएको छ । अनुवादका हकमा
सङ्ख्यात्मक र गुणात्मक वृद्धि दुवै जरुरी देख्छु ।

यहाँ आफै संस्थापक भएको पुरस्कार डायस्पोरामा बसेर लेख्ने एक जना मात्र लेखकले पाउनुभएको छ । डायस्पोरामै रहेको पुरस्कारदाताले समेत डायस्पोरिक लेखनलाई खास न्याय गर्न नसकेको गुनासोलाई के भन्नुहुन्छ ?
— पुरस्कार प्रदान गर्नका लागी प्रतिष्ठानले क्राइटेरिया बनाएको छ । देश विदेशमा रहनुहुने जुनसुकै स्रष्टा पनि यसमा पर्न सक्नुहुन्छ । सालभर प्रकाशित कृतिमध्ये प्रतिष्ठानको मूल्याङ्कनमा परेको उत्कृष्ट कृतिलाई मात्र यो प्रदान गरिने हो । त्यसैले पुरस्कार वितरणमा डायास्पोरिक लेखनलाई अन्याय भयो भन्न सायद नमिल्ला ।

नेपाली साहित्य लेखनलाई माथि लैजानेबारे तपाईंका केही योजना छन् कि ?
— नेपाली साहित्यका विविध विधामा लेखिएका उत्कृष्ट कृतिहरू अङ्ग्रेजी लगायत विश्वका प्रमुख भाषाहरूमा अनूदित होऊन् भन्ने मेरो चाहना हो । यसमा एकल प्रयासभन्दा पनि सामूहिक सहभागिता आवश्यक हुन्छ ।

अन्त्यमा, तपाईंलाई मन पर्ने लेखक र पुस्तक छन् कि ? छन् भने हामीलाई पनि त्यसबारे बताइदिनुहोस् न ।
— मन पर्ने लेखक धेरै छन्, बीपी कोइराला, शङ्कर लामिछाने, पारिजात, भूपी शेरचन, धच गोतामे, ध्रुवचन्द्र गौतम, कृष्ण धरावासी, अमर न्यौपाने, खुशवन्त सिंह, आन्तोन चेखोब, लियो टोल्सटाय आदि । त्यसैगरी तिखो प्रहार गरी लेख्ने खगेन्द्र सङ्ग्रौलाको लेखनशैली पनि मलाई मन पर्छ । केही महिनाअघि युबल नोहा हरारीका तीनवटै पुस्तक पढेपछि उनीबाट पनि निक्कै प्रभावित भएको छु । बीपी कोइराला र धच गोतामे सर्वाधिक मन पर्ने लेखक हुन् । यी दुई लेखकका सबै कृतिहरू मैले दोहो-याएर मात्र होइन कैयौँ पटक पुनर्पठन गरेको छु ।

धेरै पढिएको