२० असार २०८१, बुधबार
Follow Us

पार्टीमा विभाजन ल्याउन प्रयास भइरहेको अध्यक्ष दाहालको टिप्पणी

sarusaru
२६ बैशाख २०७६, बिहीबार ०३:२९

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाँकी रहेका पार्टी एकताको काम अन्तिम चरणमा पुगेको बताएका छन् ।

तत्कालीन नयाँ शक्ति नेपालका केन्द्रीय सदस्य सीमा विकलाई बुधबार पार्टी मुख्यालय धुम्बाहारीमा पार्टी प्रवेश गराउँदै उनले बाँकी रहेका पार्टी एकताको काम अन्तिम चरणमा पुगेको बताए ।

‘‘आज मात्र हामीले पार्टी एकताको काम एक कदम अगाडि बढ्ने गरी गरेका छौँ’’, उनले भने, ‘‘पोलिटब्यूरो, जनवर्गीय सङ्गठनको एकता र केन्द्रीय सदस्यको कार्यविभाजनको केही दिनमा टुङ्ग्याएर हामी सार्वजनिक गर्दछौँ ।’’

अध्यक्ष दाहालले एउटै कम्युनिष्ट पार्टी बनाएर मुलुकलाई समृद्धितर्फ लैजाने पार्टी लागिपरेको समेत बताए । २०१९ सालबाट विभाजित कम्युनिष्ट दुई ठूला कम्युनिष्ट पार्टी एक भएपछि एकीकृत कम्युनिष्ट पार्टी बनेको उल्लेख गरे । उनले नेकपामा प्रवेश गर्नेको लहर देशव्यापी रूपमा बढेको बताए ।

‘‘पार्टीमा जोडिनका लागि थुप्रैसँग सम्पर्क भइरहेको छ । हामी पनि यही पार्टीमा जोडिन चाहन्छौँ भनेर देशभरबाट खबर आइरहेका छन्’’, उनले भने, ‘‘केही दिनमा ठूला, साना कम्युनिष्ट पार्टी नेकपामा जोडिन आउनेछन् । पार्टीलाई अझ पूर्णता बनाउने हो ।’’

अध्यक्ष दाहालले पार्टी एकता देखेर के गरेर बिथोल्न सकिन्छ र के गरेर नेताबीच कचिङ्गल गर्न सकिन्छ भनेर प्रयास भइरहेको भन्दै ती प्रतिक्रियावादीका भ्रमलाई परास्त गदै पार्टी एकतालाई अगाडि बढाइने दृढता व्यक्त गरे । उनले कम्युनिष्ट आन्दोलन मुलुकमा समाजवादको आधार निर्माण गर्ने कडीका रूपमा रहेको बताए ।

उनले विगतको अनुभवको समीक्षासहित जनताको चाहना तथा उत्साह हुने गरी नीति तथा कार्यक्रममा समेटिएका कुरालाई आधार बनाएर बजेट बनाइने बताए ।
रासस