१९ बैशाख २०८१, बुधबार
Follow Us

अनि उनी निःशब्द भइन्

नेपालब्रिटेन डट कम्
२९ बैशाख २०७६, आईतवार ०३:११

काठमाडौँ – त्यतिबेला उनी साउदी अरबमा थिए । काठमाडौंमा ७ वर्षाीया छोरी र सानो छोरा स्याहारेर डेरामा बस्दै आएकी श्रीमतीले जे खबर सुनाइन्, त्यसले उनलाई काममा अडिइरहन दिएन । खबर डरलाग्दो सपनाजस्तै थियो ।
त्यसपछि के-के भयो ती सब बताउन उनलाई शब्द नपुगेजस्तो लाग्छ । भन्न खोजिएका कुरा पनि घाँटीमै अड्किएजस्तो लाग्छ । पछिल्लो पटक साउदी अरब पुगेको १६ महिना मात्रै भएको थियो । घरको खबर सुनेलगत्तै उनले आपतकालीन बिदा मागे र आफ्नै खर्चमा टिकट काटेर वैशाख दोस्रो साता काठमाडौं आइपुगे ।

घटना केही साता पुरानो थियो, घाउ भने आलै । शुक्रबार उनी श्रीमती, ७ वर्षकी छोरी र सानो छोरा लिएर सिनामंगलको एक अस्पताल जाँदै थिए । निन्याउरो अनुहार लगाइरहेकी छोरी संवाददातालाई देख्नेबित्तिकै आमाको छेउमा लुटपुटिइन् । छेवैको रेस्टुरेन्टमा आमाछोरीलाई अलि परै राखेर घटनाक्रमबारे जान्न खोज्दा उनले भने, ‘श्रीमतीले छोरी बलात्कृत भएको खबर सुनाएपछि मेरो हंसले ठाउँ छोड्यो । मनै अडिएन, तत्कालै फर्किहालें ।’

नेपाल फर्किनुअघि उनले फोनबाटै घटनाबारे प्रहरीमा उजुरी टिपाएका थिए । तर आरोपित अहिलेसम्म पक्राउ परेका छैनन् । के गरौं र कसो गरौं भएर छटपटिएका उनीसँग छोरीमाथि भएको बलात्कारको घटनाबारे सोध्ने प्रश्न धेरै थिएनन् । उनको हतास अनुहारले धेरै कुरा बताइरहेको थियो । सुरुमा उनले आफू साउदी जानुपर्नाको बाध्यता सुनाए । ‘यो छोरी जन्मिँदा पनि म साउदीमै थिएँ, छोरीको फोटो हेरेरै चित्त बुझाएँ,’ उनले भने, ‘दुई वर्षपछि आएर बल्ल उसको अनुहार देखें । केही समय घर बसेर फेरिसाउदी गएको थिएँ ।’

प्रत्येक बिदामा आउँदा, हुर्किंदै गरेकी छोरी हेर्दै फर्किंदै गरेर उनले केही वर्ष गुजारे । ‘यसरी हुर्किएकी छोरी ७ वर्ष पुग्दा यस्तो घटनामा परी’ यति भनेपछि बालिकाका ३३ वर्षे पिता बोल्न सकेनन् । त्यसपछि संवाद बालिकाकी आमासँग भयो । श्रीमान् साउदी गएपछि उनी अरूका घर सफाइ गर्ने, कपडा धुने र भाँडा माझ्ने गरेर आम्दानी गरिरहेकी थिइन् ।

बिहान झिसमिसेदेखि साँझसम्म एकैदिन चारवटा घरको काम भ्याउँथिन् । एक वर्षयता उनी बानेश्वर शान्तिनगरको मिलीजुली चोकस्थित राजु खरेलको घरमा काम गरिरहेकी थिइन् । बिदाको दिन छोरीलाई सँगै लिएर जान्थिन् ।

उनले एक महिनाअघिको क्षण सम्झिइन् । काममा निस्कनै लागेका बेला छोरीले सोधिन्, ‘तपाईं कुन-कुन घरमा काममा जानुहुन्छ मम्मी । त्यो घरमा चाहिँ नजानुस् है ।’

उनले सोधिन्, ‘किन ?’
त्यसपछि २ कक्षामा पढ्ने छोरीले भनेका कुराले उनी छाँगाबाट खसेजस्तै भइन् ।
‘तपाईं छतमा कपडा धोएका बेला त्यो मान्छेले मलाई कोठामा लगेर चकलेट दिँदै के-के गर्छ,’ यही भनेकी थिइन् छोरीले । छोरीले यस्तो नराम्रो काम दुई पटक गरेको र पिसाब फेर्ने ठाउँमा दुखिरहेको बताइन् । यति सुनाएपछि निकै बेर अडिइन् र भनिन्, ‘के भनाैं, तपाईंले बुझिहाल्नुभयो होला ।’

छोरीको कुरा सुनेपछि उनी के गरौं र कसो गरौंको छटपटीमा परिन् । नजिककी एकजना दिदीलाई यो कुरा सुनाइन् । ती दिदीले पनि छोरीलाई के भयो नानु भन्दै सोधिन् । छोरीले पहिलो पटक भनेकै कुरा दोहोर्‍याइन् ।

त्यसपछि उनले घरधनी राजुकी श्रीमतीलाई सबै कुरा सुनाइन् । उनले सोध्दा पनि बालिकाले उही कुरा बताइन् । कान्तिपुर दैनिकमा खबर छ ।