७ जेष्ठ २०८१, सोमबार
Follow Us

काठमाडौँको वायु अस्वस्थकर, मास्क लगाएर मात्रै घर बाहिर निस्कन स्वास्थ्य मन्त्रालयको आग्रह

नेपालब्रिटेन संवाददाता
१८ बैशाख २०८१, मंगलवार १४:३७

काठमाडौँ- काठमाडौँको वायु विश्वकै अस्वस्थकरको सूचीमा अग्रस्थानमा परेपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मास्क लगाउन सबैमा आग्रह गरेको छ।

मन्त्रालयले काठमाडौँको वायु विश्वकै अस्वस्थकरको सूचीमा अग्रस्थानमा रहेको उल्लेख गर्दै वायु प्रदूषणबाट जोगिन अनिवार्य मास्क लगाउन आग्रह गरेको हो। मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले काठमाडौँमा वायु प्रदूषणको अत्यधिक रहेकाले सकेसम्म घर बाहिर अनावश्यक ननिस्कन, यात्रा नगर्न र अत्यधिक प्रदूषित क्षेत्रबाट टाढा रहन अनुरोध गर्नुभएको छ।

विश्वभरिको वायु प्रदूषणको अवस्था मापन गर्ने ‘वर्ल्ड एयर क्वालिटी इन्डेक्स–र्‍याकिङ्ग’ अनुसार काठमाडौँको वायु विश्वकै अस्वस्थकरको सूचीमा अग्रस्थानमा छ ।

चैत यता निरन्तर बढिरहेको काठमाडौंको वायु प्रदूषण एयर क्वालिटी इन्डेक्स एक्यूआई १७० सम्म पुगेको छ । वायुको गुणस्तरको मात्रा एक सय ५१ देखि दुई सयसम्म पुगे मानव स्वास्थ्यका लागि हानिकारक मानिन्छ । बढ्दो वायु प्रदुषणले गर्दा विश्वकै प्रदुषित शहर बनिरहेको काठमाडौंको प्रदुषण घटाउन विभिन्न जिल्लामा लागेको डढेलो नियन्त्रण गर्नुपर्ने वातावरणवीद्हरुले सुझाव दिएका छन् ।