२७ बैशाख २०८१, बिहीबार
Follow Us

बाग्लुङका तत्कालीन प्रधानाध्यापक अख्तियारकाे फन्दामा

नेपालब्रिटेन डट कम्
९ जेष्ठ २०७६, बिहीबार १६:५८

काठमाडौँ–अख्तियार दुरुपयोग अनुसन्धान आयोगले माँझखर्क प्राथमिक विद्यालय बाग्लुङका तत्कालीन प्रधानाध्यापक विजयबहादुर थापाले सट्टा शिक्षकको नाममा सरकारी स्रोतको दुरुपयोग गरेको अभियोगमा मुद्दा दायर गरेको छ ।

सो विद्यालयमा अध्यापन गराउने अस्थायी शिक्षिका चन्दा थापा विसं २०७२ चैतदेखि विद्यालयमा अनुपस्थित भई जापानमा रहेको भए पनि विसं २०७३ फागुनसम्मको तलबभत्ता माग गरी खाई मासी भ्रष्टाचार गरेको पाइएको छ ।

अस्थायी शिक्षिका थापा लामो समयसम्म विद्यालयमा नरहेको अवस्थामा बिदा स्वीकृत नगराएको, सोको जानकारी साविक जिल्ला शिक्षा कार्यालय, बाग्लुङलाई जानकारी नदिइ आकाश थापा र अस्मिता घर्तीलाई सट्टा शिक्षक नियुक्ति गरी रु दुई लाख ८१ हजार ३०१ बराबरको भ्रष्टाचार गरेको पाइएको आयोगले दाबी गरेको छ ।

सट्टा शिक्षक आकाशले गैरकानूनी तवरले चन्दा थापाको नामबाट तलब निकासा माग गरेको, हाजिरकापीमा विसं २०७३ असोज मसान्तसम्मको नक्कली हाजिर गरी सरकारी रकम लिन र खान मतियारको भूमिका निर्वाह गरेको आरोप लगाउँदै आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए।