१८ बैशाख २०८१, मंगलवार
Follow Us

विदेशी जेलमा ५ सय ३२ नेपाली, २५ जनालाई मृत्यु दण्ड

नेपालब्रिटेन डट कम्
५ असार २०७६, बिहीबार ०८:२०

लण्डन । रोजगारीको सिलसिलामा विभिन्न मुलुक पुगेका नेपालीमध्ये पाँच सय ३२ जना जेल परेका छन्। आर्थिक जोहोका लागि वैदेशिक रोजगारीमा गएका व्यक्तिहरु सम्बद्ध मुलुकको कानुन विपरीत काम गरेपछि जेल परेका हुन्। कतिपय परिबन्दले पनि जेल पुगेका छन्। वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले रोजगारीमा जाने नेपालीको संख्या बढेसँगै जेल पर्नेको संख्या पनि बढेको बताए। उनका अनुसार रोजगारीको क्रममा परदेशमा रहेका नेपालीमध्ये पाँच सय ३२ जना विभिन्न आरोपमा जेलमा छन्।

सबैभन्दा बढी मलेसियाको जेलमा छन्। बोर्डका अनुसार मलेसियामा दुई सय चारजना जेलमा छन्। दोस्रो नम्बरमा रहेको संयुक्त अरब इमिरेट्समा एक सय ८५, कुवेतमा ५८, कतारमा ३८, साउदी अरेबियामा २४ र ओमानको जेलमा दुई नेपाली जेलमा छन्। तीमध्ये महिलाको संख्या १९ छ। जेलमा रहेकामध्ये २५ जनालाई मृत्युदण्डको फैसला सुनाइएको छ। यो संख्या सरकारको जानकारीमा आएको मात्र हो। सरकारी जानकारीमा नआउनेको संख्या पनि हुन सक्ने अनुमान रहेको नागरिकन्युजमा उल्लेख छ।