१५ बैशाख २०८१, शनिबार
Follow Us

किताव दिने डिआइजीलाई कैदीबन्दीले गरे भावुक विदाई

sarusaru
९ असार २०७६, सोमबार ०३:१८

सुर्खेतस्थित कारागारका कैदीहरुले कर्णाली प्रदेशका प्रहरी नायव महानिरीक्षक (डिआइजी) महेशविक्रम शाहको विदाई गरेका छन्।

प्रदेश प्रहरी कार्यालय सुर्खेतमा १० महिनाको कार्यकालपछि सुरक्षा परिषद काठमाडौंमा सरुवा भएका डिआईजी शाहलाई आइतबार कैदीहरुले कारागारभित्रै औपचारिक कार्यक्रमको आयोजना गरी विदाई गरेका हुन्।

‘किताब अभियान’ सञ्चालन गरी कर्णालीका सबै कारागारहरुमा पुस्तकालय स्थापना गरेका डिआईजी शाहलाई कैदीहरुले नेपाली टोपी, आफूहरुले बनाएका मुढा प्रदान गर्दै टिका लगाएर विदाई गरे।

विदाईका क्रममा कैदीबन्दीहरुले पुस्तकालय स्थापना गरी अध्ययन गर्ने मौका प्रदान गरेकोमा धन्यवाद व्यक्त गरे। ‘विभिन्न परिस्थिति र लहलहैमा लागेर कैदी बन्न पुगेका हामीलाई डिआईजीको अभियानले सुधार गृहमा राखिए जस्तो महसुस गराएको छ,’ विदाईका क्रममा कैदी धर्म विकले भने, ‘हामीप्रति उहाँको योगदानलाई सम्मान र कदर गर्नेर्छौं।’

उनले किताब अभियानको उद्देश्य पूरा गर्न पुस्तक पढेर सहयोग गर्ने प्रतिबद्धता जनाए। प्रदेश प्रहरी प्रमुख शाहले कैदीलाई यातना दिने ठाउँका रुपमा हेरिने कारागारलाई सुधार गृहका रुपमा स्थापित गर्न सोच परिवर्तन हुनुपर्ने औंल्याए।

परिस्थितिले व्यक्तिलाई अपराधी बन्न बाध्य गराउने भन्दै उनले भुलवस भएका गल्तीहरुलाई सुधार गर्दै समाजमा फर्किंदा सक्षम र सचेत नागरिक बनेर फर्किन कैदीहरुलाई आग्रह गरे।

डिआईजी शाहले भने, ‘गल्ती सधैभरको लागि होइन, त्यही नागरिक पछि असल नागरिकका रुपमा पनि स्थापित हुन सक्छ, यसमा तपाईहरुले ध्यान दिनुस्।’

उनले कर्णाली प्रदेशमा आएर नयाँ सोचको विकास भएको भन्दै त्यसकै परिणाम कारागारमा पुस्तकालय सथापना भएको बताए। कारागारको किताब अभियानलाई अन्य प्रदेशमा पनि चलाउने प्रतिबद्धता उनले जनाए।
सेतोपाटी